५ माघ २०८१, शनिबार

कोरोना रोकथामका लागि प्रधानमन्त्रीको नेतृत्वमा प्रभावकारी संयन्त्र बनाउन संसदीय समितिको सुझाव

प्रकाशित मिति :  17 May, 2021 8:01 pm


काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना नियन्त्रणका लागि तत्काल प्रधानमन्त्रीको नेतृत्वमा संयन्त्र बनाउनुपर्ने सुझाव दिएको छ ।

आज बसेको समिति भर्चुअल बैठकमा धेरैजसो सदस्यले उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको समिति प्रभावहीन भएको र अधिकारपनि नभएकाले प्रधानमन्त्रीकै नेतृत्वमा शक्तिशाली संयन्त्र बनाउनुपर्ने माग गरेका थिए ।

उक्त मागपछि समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संयन्त्र बनाउन सुझाव दिएको हो । समितिले तत्काल आइसियू र भेन्टिलेटरसहितको बेडहरू बढाउन निर्देशन दिएको छ । अक्सिजन नपाएर मर्नुपर्ने अवस्था रहेको भन्दै पहिलो प्राथमिकतमा अक्सिजन र सिलिण्डरको व्यवस्थापन गरेर बेड थप्न निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले सरकारले अहिले काम गरिरहेकोपनि परिस्थिति अनुसार प्रयाप्त नभएको बताइन् । उनले लामो समयसम्म निषेधाज्ञा लागु हुँदा मजदुर गरिब किसान लगायतका न्यून आय भएका र खाने वस्ने समस्यामा परहेका आम नागरिकहरुलाई उचित व्यवस्था गर्नपनि सरकारलाई निर्देशन दिइएको सभापति घर्तीले जानकारी दिइन् ।

बिरामीको उपचारमा खटिएका डाक्टर नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता समेत तुरुन्त उपलब्ध गराउन समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति घर्तीले गाउँगाउँमा धेरै मानिसहरुमा कोभिड संक्रमण भएको तर जाँच नगरी बसेकाले ट्रेसिङ र पिसिआर परीक्षण बनाउन पनि भनिएको जानकारी दिइन् ।

समितिले वीर अस्पतालमा छिटोभन्दा छिटो स्वास्थ्य उपकरण लगायतको व्यवस्था गरी कोभिडको उपचार सुरु गर्न पनि समितिले भनेको छ । समितिले महामारी नियन्त्रणका लागि आवश्यक कानूनको व्यवस्था गर्नुपर्ने लगायतको सुझाव पनि दिएको छ ।



प्रतिक्रिया दिनुहोस !