एनआरएनए मोजाम्बिकद्वारा प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण
काठमाडौं । एनआरएनए मोजाम्बिकले नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं. १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको छ ।
गैरआवासीय नेपाली सङ्घका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत आज उक्त सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड उपचार कक्षलाई २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा १० थान अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरिएको हो ।
भर्चुअल रुपमा एनआरएनए मोजाम्बिकका अध्यक्ष देवी पौडेलको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । देवचुली नगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई उक्त सिलिन्डरहरु हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा भर्चुअल रुपमा एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र एनआरएनए मोजाम्बिक राष्ट्रिय समन्वय समितिका अध्यक्ष देवी पौडेल समेत सहभागि थिए ।
कार्यक्रममा वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले अफ्रिकाका एनआरएनएले आफ्नो गाउँघर सम्झेर अप्ठ्यारो अवस्थामा सहयोग गरेकोमा धन्यवाद प्रदान गरे ।