६ माघ २०८१, आइतबार

बि एण्ड सी अस्पताललाई अवैधानिक रुपमा सम्बन्धन दिन खोजिएको भन्दै डा. केसीको आपत्ति

प्रकाशित मिति :  18 May, 2021 1:45 pm


काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका अगुवा डा. गोविन्द केसीले झापाको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूले अवैध कदम चालेको भन्दै अध्याकर्षण भएको जनाएका छन् ।

विज्ञप्ति जारी गर्दै डा. केसीले भनेका छन्,“सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरु पदीय दुरुपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको छ ।”

डा. केसीले केयूका पदाधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि लामो संघर्षपछि चिकित्सा शिक्षा ऐन जारी भएको स्मरण गर्दै डा. केसीले भनेका छन्,“त्यसमा पनि अझै सुधार गर्नुपर्ने भनेर हामीले बारम्बार माग गर्दै आएका छौं र त्यसलाई जनतामुखी र विद्यार्थीमुखी हुने गरी संशोधन गर्ने सम्झौता सरकारले हामीसित गरेको छ । तर हाल कायम ऐनका प्रावधानहरु नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रुपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय छ ।”

प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा सम्बन्धन दिने निर्णय भएको उल्लेख गर्दै डाक्टर गोविन्द केसीले विज्ञहरू सम्मिलित आयोगलाई लत्याउँदै भ्रष्ट र आपराधिक चरित्रका नेताहरूको इशारामा हुने यस्तो कुनै पनि निर्णय हाम्रा लागि स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा ऐन अनुसार कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने भन्दै डा. केसीले केयूले केयुले यस अगाडि नै त्यसभन्दा निकै बढी संख्यामा निजी मेडिकल कलेजहरुलाई धन्दा चलाउने अनुमति दिइसकेको उल्लेख गरेका छन् ।

आससयपत्र नै नवीकरण नगरेकाले स्वतः रद्द भइसकेको झापास्थित बि एण्ड सी प्रस्तावित मेडिकल कलेजले राजनीतिक पहुँचका भरमा जबर्जस्ती अवैध रुपमा सम्बन्धन लिन प्रयास गरेको डा. केसीको आरोप छ ।

उनले भनेका छन्,“मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रमा प्रधानमन्त्रीले यस्तो अराजकता तथा दण्डहीनता सिर्जना गर्दा मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर ह्रास आउने अवस्था छ ।”

काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फर्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न डा. केसीको माग छ ।

डा.केसीले भनेका छन्,“यस्तो भ्रष्ट क्रियाकलाप गर्ने केयु उपकुलपति भोला थापालगायतका पदाधिकारीहरुमाथि तत्काल छानविन र कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गराउँछौं ।”



प्रतिक्रिया दिनुहोस !