६ आश्विन २०८१, आइतबार

जसपाले भन्यो,‘राष्ट्रिय सहमतिको या आफ्नै नेतृत्वको सरकार,नभए प्रतिपक्षमा बस्छौं’

प्रकाशित मिति :  18 May, 2021 2:10 pm


काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रिय सहमति वा आफ्नै नेतृत्व सरकारको प्रस्ताव गरेको छ ।

समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल आफ्नो पार्टी सरकारमा सहभागि नहुँने स्पष्ट पार्दै राष्ट्रिय सहमतिको सरकार वा आफ्नै नेतृत्वको सरकार हुने अवस्थामा मात्रै अगाडि बढ्ने स्पष्ट पारेका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,“जनता समाजवादी पार्टी,नेपाल सरकारमा सहभागि नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।”

वर्तमान केपी शर्मा ओलीले जेठ ३० गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने छ । विश्वासको मतका लागि अहिलेको अवस्थामा समाजवादी पार्टी निर्णायक छ । समाजवादी पार्टीको यो विज्ञप्तिले प्रधानमन्त्री ओलीले विश्वासको मतपनि प्राप्त गर्न नसक्ने र विपक्षीको बहुमत पनि नपुग्ने स्थिति हुने देखिएको छ ।

सरकार गठनका विषयमा जनता समाजवादी पार्टीभित्र विवाद देखिएको थियो । महन्थ ठाकुर तटस्थ बस्ने पक्षमा थिए भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा थिए । पार्टी विभाजनको स्थिति बनेपछि आज दुई अध्यक्षको विज्ञप्ति आएको हो ।

विज्ञप्तिमा पार्टी एकीकरणपछि समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी तथा भातृ संगठन लगायत संगठनहरुबीच छिटो टुंग्याइने उल्लेख ।

त्यस्तै पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तर्गत रहेर नै समस्याका समाधान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,“पार्टीभित्र कसैले व्यक्तिग स्वार्थ सिद्धगर्नका लागि गुटबन्दी गर्ने,गुट—उपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौ भ्रम फैलाउने,विखण्डन र विभाजनकारी भूमिका खेल्न खोल्ने क्रियाकलाप,बिचार प्रकृतिहरूअन्त्य गरि पार्टी एकतालाई एकताबद्ध राख्नुपर्छ ।”

दुई अध्यक्षबीचको संयुक्त विज्ञप्ति आएपछि जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । दुबै अध्यक्षले हस्ताक्षर गरेर जेठ ८ र ९ गतेका लागि केन्द्रीय कार्यकारिणी समिति बोलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !