६ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु, नतिजा आजै

प्रकाशित मिति :  20 May, 2021 9:25 am


काठमाडौं । बाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको  छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ ।
केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको  छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै सार्वजनिक गर्ने आयोगको तयारी छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।

नतिजा भर्चुअल माध्यमबाट

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !