विवादमा तानियो निफ्रा,भन्यो,‘नयाँ कम्पनीले विद्युत प्राधिकरणलाई असर गर्दैन’
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ बन्ने विद्युत् व्यापार कम्पनीका कारणले नेपाल विद्युत् प्राधिकरणले हालसम्म गरेको विद्युत् खरिद सम्झौता (पीपीए) र विद्यमान आयात निर्यातमा गरिरहेको कार्यमा समेत कुनै किसिमको असर नपर्ने दाबी गरेको छ ।
प्राधिकरणको विद्युत् व्यापार खोसेर निजी कम्पनीलाई दिन लागिएको भन्दै प्राधिकरणका सबै कर्मचारी युनियनले सामूहिक रुपमा विरोध गरेपछि निफ्राले प्रस्तावित विद्युत् व्यापार कम्पनीमा कुनै समूह विशेषको मात्र लगानी नभई नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय विद्युत् व्यापार कम्पनी, सर्वसाधारण लगानीकर्ताको समेत लगानी हुने गरी बृहत् तथा सुदृढ कम्पनीको रुपमा रहने बताएको हो ।
बैंकले प्राधिकरणले गर्ने विद्युत् खरिद बिक्रीमा नेपाल सरकारको दायित्व रहे पनि निजी क्षेत्र विद्युत्को व्यापारमा क्षेत्रमा आउँदा सरकारको आर्थिक दायित्व कम हुने, ठूला तथा अन्तरदेशीय प्रशारण लाइनको निर्माणमा समेत निजी क्षेत्र आकर्षित हुने र राज्यलाई आर्थिक भार कम पर्ने दाबी समेत गरेको छ ।
विद्युत व्यापारमा निजी क्षेत्र हाबी हुनेगरि कम्पनी बनाउन लागिएको भन्दै कर्मचारी संगठनको विरोध
नयाँ कम्पनीमा नेपाल सरकारको समेत सेयर हुँदा सरकार विद्युत्को निर्यातमा गम्भीर छ भनी विश्वस्त गर्न तुल्याउन सकिने भएकाले र भएकोले सरकारको र नेपाल विद्युत् प्राधिकरणको सेयर प्रस्ताव गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार नयाँ कम्पनीले कर्णाली, भेरी, सेतीलगायत विभिन्न विद्युत् कोरिडोरहरमा सुरू गरिए नयाँ तथा ठूला परियोजनाहरुको पीपीपी गरी निर्यात गर्न उत्पादन, प्रशारण तथा व्यापारलाई एकीकृत रुपमा बढाउने, फुकोट कर्णाली, बेतन कर्णाली, जगदुल्ला, भेरी, पश्चिम सेती, तिला १, तिला २ जस्ता करिब ४,५०० मेगावाटका परियोजनाहरूमा प्रस्तावित कम्पनीले लगानी व्यवस्थापन तथा बजारीकरण गर्नेछ ।