१२ मंसिर २०८१, बुधबार

निषेधाज्ञामा पनि सुरक्षित गर्भपतन निरन्तर, जोखिम मोलेरै अस्पताल जाँदै रोल्पाली किशोरीहरु

प्रकाशित मिति :  20 May, 2021 6:45 pm


—उमा केसी—

रोल्पा । कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको दर उच्च छ । सरकारले निषेधाज्ञा जारी गरे पनि राेल्पाली महिलाहरू जोखिम मोलेरै सुरक्षित गर्भपतन सेवा लिने क्रम घटेकाे छैन ।

कोरोनाका कारण भएको निषेधाज्ञा अवधिमा पनि रोल्पामा सुरक्षति गर्भपतन सेवा सुचारु छ । सेवा सुचारु भएकाले सेवा लिन सेवाग्राही सुचिकृत स्वास्थ्य संस्थामा आउने क्रम निरन्तर चलिरहेको पाइको हो ।

गर्भपतन सेवा लिनेमा अधिकांश किशोरीहरु रहेका छन् । जिल्लाका मुख्य तीन वजारोन्मुख क्षेत्रहरु लिवाङ, सुलिचौर र घर्तीगाउँ बाट लिइएको तथ्यांक अनुसार निषेधाज्ञा अवधिमा २१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्ला सदरमुकाममा रहेको रोल्पा अस्पताल रेउघामा निषेधाज्ञा अवधिमा १५ जनाले यो सेवा लिएको स्टाप नर्स मिना कुवरले जानकारी दिइन ।

सुनिलस्मृति गाँउपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ४ जना महिलाले गर्भपतन सेवा लिएका छन् । गर्भपतन सेवाका लागि स्वास्थ्य सामाग्री केही मात्रामा कमी भए पनि यो सेवा निरन्तर चलिरहेका प्राथमिक स्वास्थ्यकेन्द्र सुलिचौरकी स्टाफ नर्स खिमाकुमारी गिरीले जानकारी दिइन् ।

माडी गाँउपालिकाको अर्को वजार केन्द्र घर्तीगाउँमा यस अवधिमा गर्भपतन सेवा लिनेको संख्या २ जना रहेको घर्तीगाउँ स्वास्थ्य केन्द्रका स्टाप नर्स पूर्णिमा घर्तीमगरले जानकारी दिइन् । यातायातका साधन नचल्दा टाढा बाट आउनेहरुलाई केही समस्या भए पनि सेवा रोकिएको भने नरोकिएको उनले बताइन् ।

पहिलो गर्भ रहेकै वेला किशोरीहरुले यस्तो सेवा लिने गरेको देखिन्छ । सन्तानको रहर पुगेर गर्भपतन गराउने भन्दा पहिलो गर्भमै गर्भपतन गराउनेको संख्या धेरै देखिने गरेको रोल्पा अस्पतालका सिनियर नर्स मिना कवरको भनाई छ ।

अझै पनि स्वास्थ्य संस्था वाहिर अवाञ्छित गर्भपतन गराउनेको संख्या रहे पनि क्रमशः स्वास्थ्य संस्थामा आएर गर्भपतन गराउनेको संख्या वढ्दै गएको रोल्पा अस्पतालका डाक्टर प्रकाश वुढाले भन्नुभयो ।

रोल्पाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलव्ध छ । “सूचिकृत स्वास्थ्य संस्था गएर गर्भपतन गराउन झन्झट मान्ने र गोपनियता भंग हुने डर भएकाहरु जिल्ला बाहिर गएर पनि गर्भपतन गराएको वुझिन्छ,” बुढाले भने ।

रोल्पा अस्पताल लिवाङ, प्राथमिक स्वास्थ्य केन्द्र सुनिलस्मृती गाउँपालिका सुलिचौर, प्राथमिक स्वास्थ्य केन्द्र रुन्टीगढी गाउँपालिका होलेरी तथा घर्तीगाउँ स्वास्थ्य चौकी माडी गाउँपालिका, वडाचौर स्वास्थ्य चौकी लुंग्री गाउँपालिका, थवाङ स्वास्थ्य चौकी थवाङ गाउँपालिका र कुरेली स्वास्थ्य चौकी परिवर्तन गाउँपालिकामा यो सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गराउन निशुल्क सेवाको व्यवस्था गरिएको छ । जिल्ला अस्पताल र अन्य २ स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरि पतन गराउने पनि निशुल्क व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाको अभिलेख अनुसार गत वर्ष ७ सय ६० जनाले यो सेवा लिएका थिए । अघिल्लो वर्ष २ सय २५ जनाले यो सेवा लिएका थिए । वितेका २ वर्षको तथ्यांक हेर्दा स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउनेको संख्या पढ्न थालेको देखिन्छ ।

के छ गर्भपतन सम्वन्धी कानूनी व्यवस्था

नेपालको संविधानले प्रजनन स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा राखेको छ । संविधानको यही व्यवस्था अनुसार सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ तर्जुमा गरिएको छ । सोही ऐन अनुसार महिलाहरुले गर्भान्तर वा सन्तानको संख्या निर्धाारण गर्ने अधिकार दिएको छ । जसका लागि उनीहरुलाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संवन्धि हक कायम गरिएको छ ।

यही ऐन अनुसार महिलाहरुले सुरक्षित ढंगले गर्भपतन गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । ऐन अनुसार प्रत्येक महिलालाई स्वास्थ्य संस्थामा गई आफु गर्भवती भए नभएको जाँच वा परिक्षण गर्ने अधिकार रहन्छ ।

गर्भवती महिलाको मंञ्जुरीले १२ हप्ता सम्मको गर्भपतन गर्न पाउने कानूनी व्यवस्था छ । यसका साथै गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरामा पुग्ने अवस्था वा निजको शारिरीक वा मानसिक स्वास्थ्य खराव हुन सक्छ वा विकलाङ्क वच्चा जन्मन्छ भनी ईजाजल प्राप्त चिकित्सकको रायभई त्यस्ती महिलाको मञ्जुरी वमोजिम अठ्ठाईस हप्ता सम्मको गर्भ पतन गराउन पाउने कानुनी व्यवस्था छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को थप व्यवस्था अनुसार जवरजस्तीकरणी वा हाडनाताकरणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले अठ्ठाईस हप्ता सम्म र रोगप्रतिरोधात्मक क्षमता उन्मुक्ती गर्ने जीवाणु वा त्यस्तै प्रकृतिका अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी प्रावधान रहेको छ ।

भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुनसक्ने वा जन्मेर पनि वाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खरावी रहेको, वंशाणुगत खरावीवा अन्य कुनै कारणले भ्रुणमा असक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय वमोजिम गर्भवती महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था रहेको छ ।

रोल्पामा सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारकासाथै गैर सरकारी संस्थाहरु पनि लामो समय देखी कृयाशिल रहेको छन । रोल्पामा गर्भपतन सम्वन्धी कानूनी सचेतना तथा प्राविधिक सहयोगका लागि पास नेपालले काम गरिरहेको छ ।

असुरक्षित गर्भपतनको कानूनी ज्ञान तथा स्वास्थ्यमा पार्ने प्रभाववारे जिल्लामा गरिएको सचेतिकरणका कारण विपदको वेला पनि स्वास्थ्य संस्था पुगी यो सेवा लिनेहरुको मात्रा वढ्नु सुखद पक्ष हो महिला प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी दिलकुमारी वुढाको भनाई छ ।

“सरकारी तथा गैर सरकारी क्षेत्रबाट यसको प्रभावकारी कार्यान्वयनका लागि लामो समय देखी काम हुदै आएका कारण यस्तो विपदको समयमा पनि महिलाहरु यो सेवा लिन तयार भएका हुन्” वुढाले भनिन् ।



प्रतिक्रिया दिनुहोस !