हुण्डी कारोबारमा संलग्न रहेको अरोपमा रु.२१ लाख भन्दा बढी रकमसहित ३ जना पक्राउ
मोरङ । मोरङमा हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो बिराटनगर महानगरपालिका–११ रोडषेस चोकबाट २१ लाख रुपैयाँ भन्दा बढी रकम सहित तीन जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिराटनगर–१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका–१ की २५ बर्षीया जिज्ञासा चौधरी र बिराटनगर –१३ का ३३ बर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।
सुरुमा पक्राउ परेका साह र चौधरीको बयानपछि सुडीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो ।
त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो ।
यसरी ठूलो मात्रामा नगद रकम सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने मोरङ प्रहरीले जनाएको छ ।