६ आश्विन २०८१, आइतबार

राष्ट्रपति भण्डारीद्वारा फेरि प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न आह्वान

प्रकाशित मिति :  20 May, 2021 8:07 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रधानन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान’ गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीज्यू बैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विज्ञप्तिमा ‘हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ उल्लेख गरिएको छ ।

वैशाख २७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएका भन्दै भोली बेलुकी ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न भनेकी छन् ।



प्रतिक्रिया दिनुहोस !