६ आश्विन २०८१, आइतबार

विवेकशील साझा पार्टीले भन्यो,‘राष्ट्रपतिमाथि महाअभियोग लगाऊ, नयाँ सरकार बनाऊ’

प्रकाशित मिति :  21 May, 2021 9:14 am


काठमाडौं । विवेकशील साझा पार्टीले संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ ।

प्रवक्ता शरदराज पाठकले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन माग गर्दै सरकारको विकल्प दिन संसद्मा रहेका सबै विपक्षी दललाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ । ”

विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको विवेकशील साझा पार्टीको ठहर छ ।

“प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो,” भनिएको छ ।

विवेकशी साझा पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्ने जस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा सायदै कतै देखिला भन्दै टिप्पणी गरेको छ ।

वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता भएको विवेकशी साझा पार्टीको ठहर छ ।

 



प्रतिक्रिया दिनुहोस !