६ आश्विन २०८१, आइतबार

राष्ट्रपतिले दिएको समय घर्कदै : नेपाली कांग्रेसद्वारा सबै विकल्पमा अन्य दलसँग छलफल गर्ने निर्णय

प्रकाशित मिति :  21 May, 2021 11:12 am


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरहेको आह्वान संविधानको भावना र मर्म विपरित रहेको ठहर गरेको  छ ।

पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको मूल मर्म र भावनलाई कमजोर बनाउने काम गरिरहेको भन्दै यसलाई रोक्न सबै दलसँग छलफल गर्ने निर्णयपनि गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको बैठकले लोकतन्त्रको रक्षा र ओली प्रवृत्ति रोक्न सबै विकल्पमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि उनले भने, “हामी सबै विकल्पमा छलफल गर्छौ, लोकतन्त्र रक्षा र ओली सरकारले जसरी संविधानको भावना र मर्मलाई कमजोर पार्ने प्रयास भइरहेको छ कुनबाटोबाट यो प्रवृत्तिलाई रोक्न सक्छौं सबै दल सँग छलफल गछौं । ”

सबै बिकल्प भनेको महाअभियोगपनि हो भन्ने प्रश्नमा उनले भने,“अहिले पुरै नभनौं तर सबै विकल्पमा हामी छलफल गर्छौं ।”

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ अर्थात आज बेलुकी ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न दलहरूलाई समय दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !