३ आश्विन २०८१, बिहिबार

नेपाल राष्ट्र बैंकको अध्ययन भन्छ : स्वदेशी सिमेन्ट उद्योग अझै आत्मनिर्भर हुन बाँकी

प्रकाशित मिति :  21 May, 2021 4:31 pm


काठमाडौं । उद्योगीहरूले सिमेन्ट उत्पादनमा मुलुक आत्मनिर्भर भइसकेको बताउने गरे पनि अझै मागअनुसार उत्पादन हुन नसकेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन सिमेन्ट माग भए पनि आन्तरिक रुपमा ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको छ ।

राष्ट्र बैंकले सम्पन्न गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन’ अनुसार बजारको माग पूरा गर्नका लागि १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।

यद्यपि, मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको तथा स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने राष्ट्र बैंकको ठहर छ ।

अध्ययनअनुसार हाल सञ्चालनमा रहेका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ, यीमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका हुन् ।

राष्ट्र बैंकको अध्ययनअनुसार आव २०७५÷७६ सम्म नेपालाक सिमेन्ट उद्योगमा कुल ५६ अर्ब ५७ करोड रुपैयाँ वैदेशिक लगानी भएको छ भने आन्तरिक सिमेन्ट उद्योगहरूको कुल पुँजी १ खर्ब २२ अर्ब ३३ करोड रुपैयाँबराबर छ ।

नेपालमा सञ्चालनमा रहेका विदेशी लगानीका सिमेन्ट उद्योगहरूमा होङ्सी शिभम् सिमेन्ट प्रालि (७० प्रतिशत), अर्घाखाँची सिमेन्ट प्रालि (१८ प्रतिशत), मारुती सिमेन्ट लि (२१ प्रतिशत), तिङयी सिमेन्ट प्रालि (७० प्रतिशत) र हुवाजीन सिमेन्ट नारायणी प्रालि (१०० प्रतिशत) रहेका छन् ।

‘लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता छ,’ राष्ट्र बैंकको अध्ययनमा भनिएको छ, ‘प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत छ ।’

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून भएकै कारण तिनको नाफा बढी भएको हो ।
नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्तिगर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिनुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

‘आउँदो तीन वर्षभित्रमा सिमेन्टको माग दोब्बर हुने प्रक्षेपण गरिएको छ, त्यसैले थप सिमेन्ट उद्योग स्थापना हुनसक्ने ठाउँ छ,’ राष्ट्र बैंकको अध्ययनमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !