संक्रमण बढ्दै गएपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी कारोना संक्रमितका लागि
प्रकाशित मिति : 21 May, 2021 4:53 pm
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी संक्रमित बोक्न उपलब्ध गराइएको छ ।
गाउँपालिकामा रहेको एम्बुलेन्सले अन्य बिरामी र सुत्केरी पनि बोक्ने भएकाले गाउँपालिका कर्मचारी र जनप्रतिनिधि चढ्ने गाडी कोरोना सङक्रमित बोक्न प्रयोगमा ल्याइएको अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए ।
गाउँपालिकामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना निको भएका छन् र १ जनाको मृत्यु भइसकेको छ । अहिले ४५ जना सक्रिय संक्रमित छन् भने ५ जनाको आइसोलसनमा उपचार भइरहेको गाउँपालिका प्रेस संयोजक प्रतिज्ञा मगरले जानकारी दिइन् ।
गाउँपालिकाले आवश्यक परे गाडी चालकलाई सम्पर्क गर्न आग्रह गरेको छ । कुनै समस्या परे चालक अमर बिकको मोबाईल नम्बर ९८४४५७४१३४ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।