६ आश्विन २०८१, आइतबार
संसद विघटन

पूर्वप्रधानमन्त्री नेपालको प्रतिक्रिया,‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो’

प्रकाशित मिति :  22 May, 2021 9:01 am


काठमाडौं । नेकपा एमालेभित्र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन र नयाँ चुनावको घोषणा व्यवस्था नै कू गर्ने अग्रसरता भएको प्रतिक्रिया दिएका छन् ।

नेता नेपालले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,“प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।”

नेता नेपालले शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै यो प्रतिगमन भाग २ भएको ठहर गरेका छन् । उनले डटेर प्रतिवाद गर्न आह्वान गरेका छन् । उनले भनेका छन्,“केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !