६ आश्विन २०८१, आइतबार

संसद विघटनको विरोधमा राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

प्रकाशित मिति :  22 May, 2021 12:46 pm


काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य दल तथा नागरिक समाजसँग सहकार्य गर्दै राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा कांग्रेसले आपत्तिसमेत जनाएको छ ।

बैठकपछि सहमहामन्त्री महतले भने,“राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा जुन निर्णय गरिएको छ त्यो घोर असंवैधानिक हो, अलोकतान्त्रिक हो र यसको नेपाली कांग्रेस पार्टीले अरु दलसँगपनि सहकार्य गर्दै हामीले राजनीतिक प्रतिरोध गर्छौ, त्यस्तै न्यायिक रुपमा पनि यो विषयलाई अगाडि बढाउँछौं ।”

गए राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !