६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभा विघटनविरुद्व मिलेर संयुक्त प्रतिवाद गर्ने विपक्षी गठवन्धनबीच सहमति

प्रकाशित मिति :  22 May, 2021 2:25 pm


फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठवन्धनले संयुक्त रुपमा एकताबद्ध भएर राजनीतिक तथा कानूनी रुपमा सशक्त रुपमा प्रतिवाद गर्न सहमत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्,“प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाछारी, निरङ्कुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय,अन्योल र अराजकता सिर्जना गर्ने अवंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानूनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं ।”

गएराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसबारे छलफल गर्न गठवन्धनको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या भण्डारीबाट निर्वाह नगरिएको ठहर समेत गरेको छ ।

गठवन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ,“ नेपालको संवधानको धारण ७६ को उपधारा ५ बमोजिम हामीले प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित विधि सम्मत पेश गरेको दाबीमाथि संविधानतः निर्णय गरी प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या भण्डारीबाट निर्वाह गरिएन ।

उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलामितोमा बदनियपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ । ”



प्रतिक्रिया दिनुहोस !