कांग्रेस नेता पुनले ऐन्टिजेन किट् रोल्पा पठाए,सरकारले वेवास्था गरेको आरोप
रोल्पा । नेपाल सरकारका पूर्व सिंचाइ राज्यमन्त्री एवम् संविधानसभा सदस्य अमरसिंह पुनले सरकारलाइ दबाब दिन भन्दै कोरोना परीक्षणका लागि १ सय थान एन्टिजेन किट पठाएका छन् ।
जिल्लामा समुदाय स्तरमा पुगेको कोरोनाको परीक्षण गर्नका लागि पुनले ऐन्टिजेन परीक्षण किट जिल्ला अस्पताल रोल्पा पठाएका हुन् ।
नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहेका पुनले आफूहरूले उपलब्ध गराएको सहयोगले समुदाय स्तरमा फैलिएको कोरोनाको पहिचान गरि समुदायमा कोरोनाको अवस्था थाहा पाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
विज्ञहरूले अवस्था थप भयावह र जटिल बन्न सक्ने चेतावनी दिइरहेकोले सरकारले गम्भीरता साथ राज्यको सम्पूर्ण संयन्त्र कोभिड नियन्त्रणमा लगाउनु पर्ने उनको भनाई छ ।
नेता पुनले भने,“स्वास्थ्य सामाग्री यथाशीघ्र जनतालाई अनुभूति हुनेगरि सबै ठाउँमा पठाउनुपर्छ । भन्सुन र शक्तिका भरमा अक्सिजन सिलिन्डर लगायत अन्य सामग्री बितरण भैरहेको जनगुनासो व्यापक छ । धेरै जनता रोगसँग लडिरहेका छन् , सम्मान तरिकाले सम्पूर्ण स्थानमा स्वास्थ्य सामाग्री बितरण गर्ने व्यवस्था गरियोस् ।”
नीति नियम, संविधानको मर्म एवं जनअपेक्षा विपरीत चलिरहेको ओली नेतृत्वको सरकारलाई दबाब दिन पार्टीकै लगानीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री रोल्पा पठाइएको नेता पुनको भनाई छ ।
समुदाय स्तरमै कोरोना बढिरहेको रोल्पामा अक्सिजन र आवश्यक स्वास्थ्य सामाग्रीको अभावले संक्रमितको उपचारमा समस्या परिरहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. आधार वलीले बताए ।