६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभा विघटनबारे माओवादी केन्द्रले सार्वजनिक गर्‍यो यस्तो धारणा

प्रकाशित मिति :  22 May, 2021 5:30 pm


फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्नुमा प्रधानमन्त्री ओलीको ‘संघीय गणतन्त्र र समावेशी लोकतन्त्र विरोधी दृष्टिकोण, पद तथा सत्तास्वार्थ केन्द्रित चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधीनताको मुद्दालाई सैदावाजीको बिषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका’ रहेको ठहर गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अन्ध सहयोगी भूमिकामा सिमित राष्ट्रपतिको पदीय दायित्व एवं गरिमालाई धुलोमा मिलाउने काम–व्यवहार पनि त्यतिकै जिम्मेवार रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा विघटन सारतत्वमा यो अग्रगमन र प्रतिगमनको बीच र राष्ट्रिय स्वाधीनता र विदेशी हस्तक्षेप एवं राष्ट्रिय आत्मसमर्पणवाद बीचको संघर्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलिमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्ध कानूनी र राजनैतिक सबै प्रकारको संघष गर्न प्रतिवद्ध छ ।”

माओवादी केन्द्रले राष्ट्रिय सार्वभैमिकता एवं स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, कानूनविद, मानवअधिकारवादी, पेशाकर्मी लगायत आम जनसमुदायलाई एकतावद्ध भई राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा अभिन र संघर्ष गर्न हार्दिक अपील समेत गरेको छ ।

देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भइरहेका बेला सम्पूर्ण राजनीतिक तथा समाजिक शक्तिहरुलाई एकजुट बनाएर महामारीको विरुद्ध जुझ्नु पर्नेमा ओली सरकारको यस्तो गैरजिम्मेवार क्रियाकलापका कारण जनताको जीवनरक्षा जस्तो संवेदनशील बिषय गम्भीर बनिरहेको माओवादी केन्द्रको भनाई छ ।

नेकपा माओवादी केन्द्रले सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण एवं उपचार गर्न र यसको बुहआयामिक असरलाई संवोधन गर्न गम्भीर हुनुको सट्टा तुच्छ सत्तास्वार्थ केन्द्रित भई वाह्य हस्तक्षेपको आमन्त्रण एवं अभ्यास गराइरहेको छ र फाशिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भइरहेको ठहर गरेको छ ।

प्रचण्डले आफ्नो विज्ञप्तिमा भनेका छन्,“त्यसैले प्रतिगमन र यस प्रकारको निरंकुश, स्वेच्छाचारी एवं राष्ट्रघाती प्रवृत्तिलाई परास्त गर्नु महामारी लगायत बहुआयामिक राष्ट्रिय संकटको समाधानको लागि अनिर्वाय छ । यस तर्फ हाम्रो पार्टी देश र जनता प्रति इमान्दार एवं संवेदनशील सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ ।”



प्रतिक्रिया दिनुहोस !