६ आश्विन २०८१, आइतबार

२ दिनभित्र स्पष्टिकरण दिन माधव नेपालसहित ११ नेतालाई एमालेको निर्देशन

प्रकाशित मिति :  22 May, 2021 8:10 pm


काठमाडौं । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोपमा स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिए ।

जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ । उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । “आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने थियो,” उनले भने , “देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको छ । कार्यदलले काम गरिरहेको थियो तर फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नुभयो ।”

यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो । तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो ।

पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !