१२ मंसिर २०८१, बुधबार

कोरोना केही हैन भनेर हेलचक्र्याँई गर्नु हुँदैन [डा.भोला रिजालको कोरोना अनुभव]

प्रकाशित मिति :  23 May, 2021 4:22 pm


गतवर्ष विश्वव्यापी रूपमा कोभिड–१९को महामारी सुरू भयो । पहिलो वेभमा नै म (७३, त्यति बेला) र मेरो परिवार (श्रीमती सरला) संक्रमित हुन पुग्यौं । कोभिड–१९ को संक्रमणले हामीलाई केही त्रसित पनि तुल्यायो । तर परास्त गर्न हामी दुवै सफल भयौं ।

गत वर्षको अगस्तमा हामी दुबै संक्रमित भएका थियौं । भगवानको आर्शिवाद २१ दिनको अस्पताल बसाई र उपचारबाट निको भयौं । सर्तकता अपनाउँदा अपनाउँदै पनि पहिलो वेभका बेला संक्रमित भएका हौं ।

म आफै चिकित्सक । बिरामीको उपचारमा संलग्न हुनुपर्ने । महामारीका बीच पनि मैले उपचार सेवालाई निरन्तरता दिएको थिए । नेपाल मेडिकल कलेजको सञ्चालक भएकोले कतिपय अवस्थामा मिटिङमा पनि सहभागी हुनुपथ्र्याे । परिवारबाट त्यस अवधिमा सर्तकता अपनाउन र बाहिर नजान आग्रह भइरहँदा पनि कामले गर्दा पुग्नु पर्ने हुन्थ्यो । त्यही बीचमा म संक्रमित हुनपुगे जस्तो लाग्छ । त्यसले परिवारमा पनि संक्रमण भयो ।

सुरूमा दुई, तीन रुघाखोकी लाग्यो । ज्वरो पनि आयो । त्यसपछि शंका लागेर ह्याम्समा पुगेर चेकजाँच गर्याैं । जाँच गर्दा हामी दुवै जनालाई पोजेटिभ देखियो । तर, घरमा रहेका अन्य सदस्यलाई नेगेटिभ देखियो । यद्यपि, पनि मनले मानेन् । फेरी ‘रि’ चेकजाँचका लागि ललितपुरको स्टार अस्पतालमा पुग्यौं । नतिजा उही आयो, पोजेटिभ । त्यसपछि घरमै चिकित्सकको सम्पर्कमा रहेर आइसोलेसनमा बस्यौं ।

मेरो उमेर, अवस्था र पहिला मुटुको अप्रेसन गरेको बिरामी भएकोले चिकित्सकले अस्पताल जान आग्रह गर्नुभयो । त्यसैमा अझै सरला (५ वर्षअघि) क्यान्सर भएर निको भएको बिरामी भएकाले पनि चिकित्सकको सल्लाह र सुझाव मान्न बाध्य भयौं । घरमा बसेर हुँदैन भन्ने लाग्यो । परिवार चिकित्सकहरूबाट निरन्तर अस्पताल नै जान पर्छ भन्ने आग्रह भइ रह्यो । सरलाको किमो लगाएको शरीर भएकोले पनि सोच्न बाध्य बनायो । त्यतिञ्जेल रोगको संक्रमण भए पनि स्वास्थ्य अवस्था सामान्य नै थियो । कुनै अप्ठ्यारो महसुस भएको थिएन ।

काठमाडौं मेडिकल कलेजका डा. प्रकाश पौडेलको निरन्तर सम्पर्क थियाैं । उहाँले नेपाल मेडिकल कलेजमा आउन आग्रह गर्नुभयो । तर, पछि ह्याम्स अस्पताल गयौं । त्यहाँ डा. सुवास आचार्य, डा.अनुप सुवेदी, रक्षा पाण्डेय, राजु पंगेनी, डा. विनय हाम्रो उपचारमा खट्नु भयो । भाग्यवस आईसियुमा बस्नु परेन ।

२१ दिन नै क्याबिनमा बस्याैं । त्यो पनि एउटै कोठामा । सिसा लगाएको ओपन रुम थियो । त्यसले गर्दा एक अर्कालाई देख्न र अप्ठयारोमा सहयोगी बन्न सहज भयो । कुराकानी गर्न सहज भयो । दुइ–तीन दिनपछि सरलाको अक्सिजनको मात्रमा कमी देखियो । अक्सिजनको मात्रा ८८–८९ देखियो । त्यसपछि अक्सिजन लगाउनु पर्याे । ४–५ को भोलुममा राखेर अक्सिजन लगाउनु पर्याे । तर, पनि उच्च मनोबलका साथ हामी एक अर्काका परिपूरक बनेर उपचार लिई रह्यौं ।

त्यस अवस्थामा मैले नै सरलालाई सहयोग र सेवा गरिरहे । हामीलाई त्यहाँको बसाई घरको जस्तै थियो । दुवै संक्रमित भएकोले एकअर्काको परिपूरक बन्यौं । साथै, चिकित्सकको उच्च निगरानी रह्यो । डा. सुवासले हामीलाई प्राथमिकताका साथ ध्यान दिइरहनु भयो । अघिपछि म आफै पनि चिकित्सक हुँ । तर त्यस्तो अवस्थामा बिरामीलाई चिकित्सकीय केयरको ठूलो अर्थ हुन्छ, भन्ने मैले बुझेको छु । अझै संक्रमित बिरामी हुँदाको अनुभव बेग्लै रह्यो । त्यस अवधिमा चिकित्सकहरूले देखाएको तत्परता र सहृदयताले मलाई छुट्टै अनुभव गरायो ।

किनकी, यो रोगका बिरामीलाई अन्य रोगका बिरामीहरूलाई जस्तो चिकित्सक बिरामीको छेउमा पटक–पटक आउन सम्भव हुँदैन तर पनि चिकित्सकहरूले त्यहाँ हामी समक्ष उपस्थित रहेर उच्च निगरानी गरिरहनु भयो । अवस्था निगरानी राख्दै लोमलिकुलर लगायतका आवश्यक औषधि पनि चलाउनु पर्याे । सरलालाई रेमडेसिविर पनि चलाउनु पर्‍यो ।

सरला सुगरको (डाइबिटिज) बिरामी पनि भएकोले चिकित्सकले बढी ध्यान दिनुभयो । मैले पनि उनलाई आत्मबल खस्किन नदिन उच्च मनोबल कायम राख्न ध्यान दिइरहेँ । किनकी, बिरामीको मनोबलले पनि रोग प्रतिरोत्मक शक्ति पैदा हुन्छ ।

एक–एक घण्टामा तातो पानी खानु, खुवाउनु । बाफ लिनु । अक्सिजनको मात्रा हेर्नु, घोप्टो परेर सुत्न सिकाउने र सघाउने काम स्वयं मैले गरिरहे । किनकी, बीचको अवस्थामा मलाई भन्दा उनलाई संक्रमणले ग्रसित तुल्यायो । त्यस अवधिमा हाम्रा तीन सन्तान (छोरा र बुहारी) नेपालमा थिएनन् । अहिले पनि उनीहरू बाहिर नै छन् । जेठो बाबु र उसका परिवार लण्डनमा बस्छन् । ऊ स्वयं पनि चिकित्सक हो ।
त्यसैगरी, माइलो र कान्छो क्यानडा र नर्वेमा बस्छन् ।

उनीहरूले त्यस अवधिमा निरन्तर सम्पर्कमा रहे र साथै केयर गरिरहे । फोन संवाद, दैनिकी नै बन्यो । त्यसले पनि सरलालाई मनोबल उच्च बनाउन सहयोग पुगे जस्तो लाग्छ । उनीहरूले त्यहाँबाट चिकित्सकसँग गर्ने संवाद, परामर्शले हामीलाई अस्पताल बसाई घर जस्तै बन्न पुग्यो । उनीहरूसँग निरन्तर सम्पर्क, संवाद र सुझावले पनि हामीलाई आत्मबल उच्च राख्न सहयोग पुग्यो ।

अस्पतालको बसाई अस्पताल जस्तो नभएर घरकै जस्तो बन्न पुगेको थियो । त्यस अवधिमा अमेरिका, बेलायत लगायतका देशमा संक्रमणले गाँजेको थियो । तर हामी कहाँ पहिलो फेज भएकोले त्यहाँ जस्तो भयावह नभए पनि संक्रमणको ग्राफ बढ्दो थियो ।

हाम्रो स्वास्थ्य अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि, मन्त्री, पूर्वमन्त्री, चिकित्सक, प्रशासक, आफन्त र शुभचिन्तकको चासो र चिन्ता प्रकट भइरह्यो । त्यसले पनि हामीलाई उच्च मनोबल प्रदान गरिरह्यो । हामी पनि उहाँकाहरूको माया, सद्भाव, स्नेह र आर्शिवादले रोग परास्त गर्न सफल रह्यौं । साथै, केही निकटजनको मनोभावना र अन्तरहृदय बुझ्न पनि पायौं । देखिएका र भेटिएका सबै अनुहारहरू एकैनासका नहुँदा रहेछन् । सकारात्मक भन्दा पनि नकारात्मक सोच राख्नेहरू पनि भेटिए ।

त्यस अवधिमा समाज, आफन्तजन र शुभचिन्तक, को–कस्तो स्वभावको हुनुहुँदो रहेछ, भन्ने नजिकबाट अनुभुत गर्न पायौं । हामी अस्पतालमा रहेका बेला कोरोना सामान्य रुघाखोकी त होनी भन्नेहरू पनि रहे । त्यसो भन्ने केहीलाई सम्झाइ, बुझाइ पनि गर्‍यौ । सबैको बुझाई एउटै नहुने, त्यस्तो बेलामा सद्भाव, स्नेह प्रकट गर्नुको सट्टा सामान्य रूपमा प्रकट हुनेहरू चिन्न पायौं । त्यस्ता मानिसको चिन्तन र प्रवृती देख्दा दया पनि जागेर आयो । तर हामीलाई माया र सद्भाव प्रकट गर्नैहरूको संख्या धेरै रह्यो । २१ दिनको अस्पताल बसाई पछि पूर्ण स्वस्थ भएर म र सरला निवासमा फर्कियौं ।

हाम्रो स्वास्थ्य र अवस्थालाई ध्यान दिएर उपचारमा संलग्न चिकित्सक धन्यवादका पात्र हुनुहुन्छ । साथै हामी प्रति सद्भाव प्रकट गर्नु हुने जनप्रति फेरि पनि धन्यवाद भन्न चाहन्छु । यतिवेला हाम्रो देशमा दोस्रो वेभको कोरोनाको महामारी छ ।

बैशाख यता मात्र ३ हजार ९ सय बिरामीको मृत्यु भएको तथ्यांक आएको छ, जुन आफैमा दुःखद हो । अहिले पनि संक्रमण दर उच्च छ । दिनहुँ अप्रिय समाचार र बुलेटिन आइरहेका छन् । यस्तो अवस्थामा म के भन्न चाहन्छु, भने– कोरोना केही हैन् भनेर हेलचक्रयाँई नगरौं’ ।

‘प्रिकर्सन’ लिएर उच्च सर्तकता अपनाऊ । संक्रमितहरूले सर्तकता अपनाउन आवश्यक छ । साथै अस्पतालमा उपाचाररत बिरामीले उच्च मनोबलले राख्दै उपचार लियौं भने जित्न सकिन्छ ।

सर्तकता अपनाउँदा अपनाउँदै संक्रमित भइहाल्यो भने डराइ हाल्नु पर्ने पनि हैन । उच्च मनोबलले जित्न सकिन्छ । यो अनुभव स्वयं मेरो आफ्नै छ । तर सर्तकता भने अपनाउँ । संक्रमितले अर्कालाई सर्छ भन्ने कुरामा ध्यान दिउँ । मास्क अनिवार्य प्रयोग गरौं । साबुन पानीले हात धोऔं । सेनिटाइजरको उपयोगमा ध्यान दिऔं । खोक्दा, हाछ्यौं गर्दा सर्तकता अपनाउँ । निरन्तर त्यस्तो लक्षण भइरहे,तत्काल पीसीआर चेकजाँच गराऔं ।

चिकित्सकको परामर्शलाई ध्यान दिउँ । खानेकुरामा ध्यान दिउँ । फ्रिजका चिसो खानेकुरा सकेसम्म नखाऔं । स्वास्थ्य सर्तकर्ता सबैले अपनाउँ । यस लकडाउन अवधिमा बच्नका जो जहाँ छौं, त्यही सर्तकता अपनाएर बसौं । साथै प्रातःकाल र सन्ध्याकालमा प्राणायाम, योग, व्यायाम गर्ने बानी बसालौं ।

दैनिकीमा सुधार गर्दै जीवन शैलीमा परिवर्तन ल्याउँ । साथै उच्च मनोबल कायम गरौं । तर कोरोना पनि हैन् भनेर निस्फिक्री नबनौं । लाग्नेको अनुभव लाग्नेलाई थाह हुन्छ, भन्नेलाई थाह हुदैन । ‘प्रिभेन्सन ईज वेटर देन क्योर’ भन्ने कथनलाई सबैले ध्यान दिउँ, भन्न चाहन्छु ।



प्रतिक्रिया दिनुहोस !