‘५० हजारभन्दा कमको निक्षेप नराख्ने निर्णयमा बैंक कर्मचारीको स्वविवेकीय व्याख्या’
राष्ट्र बैंकका गभर्नरकै ध्यानाकर्षण
काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो वेभका कारण बैंकहरूमा भीडभाड कम गर्न नेपाल बैंकर्स एसोसियसन र डेभलमेन्ट बैंकर्स एसोसियसनले तत्कालका लागि ५० हजार भन्दा कमको निक्षेप नलिने निर्देशन जारी गरेपछि बैंक कर्मचारीहरूले त्यसको स्वविवेकीय व्याख्या गर्दै भुक्तानीको चेक पनि फर्काउन थालेका छन् ।
अहिले विशेषगरी, सरकारले दिने सामाजिक सुरक्षा भत्ता खातामा जम्मा रहेका जेष्ठ नागरिक, अतिअशक्त अपांगता भएका व्यक्तिलगायतका सानो तलबमान हुने सरकारी र निजी कर्मचारी तथा साना स्वरोजगार उद्यमी, व्यवसायीले समस्या झेलिरहेका छन् ।
स्वतन्त्र पत्रकार एवं लेखिका अमृता लम्सालका अनुसार सानिमा बैंकको चाबहिल चुच्चेपाटी शाखाबाट बैंकका कर्मचारीले ५० हजारभन्दा कमको चेक काट्न नमिल्ने बताइयो ।
”बैँकबाट ५० हजारभन्दा कम झिक्न नपाउने नियम बनाएर गज्जब गर्यौ सरकार! सबैलाई महिनाको ५० हजारभन्दा बढी खातामा हालिदिने गरेको छ क्यारे ! नभए, घरघरै पैसा पठाउने गरेकै होला ! चेक ५० हजार भन्दा माथिको लेख्नु पर्ने रे ! ५० मुनिको रकम हुनेले घरखर्च नगर, त्यही रकम हेरेर जय मनाऊ,” उनले ट्वीटरमा लेखेकी छिन् ।
उनको ट्वीटपछि नेपाल राष्ट्र बैंककै गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । ”ससानो रकम झिक्न नपाउने भन्ने विषय हुँदै होइन । यस्तो निर्देशन हुने कुरा पनि भएन र गरिएको पनि छैन ।”
ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन । यस्तो निर्देशन हुने कुरापनि भएन र गरिएको पनि छैन। कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी NRB grievance portal मा वा यहि पाए पनि हामीलाई कारवाहीको लागी सहज हुने थियो । ब्यबहारिक समस्या ध्यानाकर्र्षणकोलागी धन्यवाद https://t.co/2SenEj4v5O
— Maha Prasad Adhikari (@AdhikariMaha) May 23, 2021
ट्वीटरमा गभर्नर अधिकारकै प्रतिक्रिया आएपछि सानिमा बैंकले तत्कालै गुनासोकर्ता गौतमको समस्या समाधानमा तत्परता देखायो ।
”शाखाका कर्मचारीहरूको बुझाइमा समस्या भएकोले यस्तो हुन गएको पाइयो। सच्याउनका लागि हामीले निर्देशन दिइसकेका छौं। बचतकर्ताले आफ्नो बचत २/४ हजार भए पनि झिक्न पाउँछन्,” सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लुम्बिनी सञ्चारसँग भने श्र
”महामारीको बेला बैंकमा भीडभाड नहोस् भनेर ५० हजारभन्दा बढीको निक्षेप तत्काल नलिने भनिएको हो, लिँदै नलिने, भुक्तानी नै नदिने भनिएको होइन,” उनले थपे ।
नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका दाहालले अहिले महामारीका समयमा ५० हजारभन्दा कमको निक्षेप नलिने भनिए पनि बैंक पुगिसकेका ग्राहकका हकमा विशेष परिस्थिति बुझाएर एक पटकका लागि निक्षेप लिन सकिने व्यवस्था गराइएको पनि जानकारी दिए ।
विशेष परिस्थितिमा जेष्ट नागरिक, अपांगता भएका व्यक्तिलगायत संवेदनशील समुदायलाई जत्रोसुकै कारोबारमा सहजीकरण गर्न संघले पहल गर्ने उनले बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी भने साना निक्षेपकर्तालाई निरुत्साहित पारिए राष्ट्र बैंकले कारबही गर्ने बताउँछन् ।
”अहिले ७४ जिल्लामा कोभिड-१९ महामारीका समयमा अत्यावश्यक बैंकिङ सेवा दिइरहेका बैंकहरुमा बैंकिङ क्षेत्रमा साना निक्षेपको कारोबार सम्बन्धमा देखिएका समस्या सम्बोधन गर्नका लागि राष्ट्र बैंकले पहल गरिसकेको छ,” गभर्नर अधिकारीले भने .
कुनै समस्या भएमा राष्ट्र बैंकको गुनासो हेर्ने अधिकारीसमक्ष अनलाइनबाटै पनि गुनासो गरेमा सम्बाेधन गरिने उनले बताए ।
गभर्नर अधिकारीले महामारीका समयमा नगद कारोबार सकेसम्म कम गर्न र डिजिटल बैंकिङ कारोबारमा ध्यान दिन पनि आग्रह गरे ।