६ आश्विन २०८१, आइतबार

नागरिकता सम्बन्धि अध्यादेश खारेज गर्न विप्लव नेतृत्व नेकपाको माग

प्रकाशित मिति :  24 May, 2021 5:30 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,“ नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।”

संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कैयौँ गलत एवम् त्रुटिपूर्ण प्रावाधानहरू रहेकोबारे आफूहरुले त्यतिबेलै विरोध राखेको समेत नेकपाले स्मरण गराएको छ ।

जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेछि विवाद सुरु भएका बेला विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस !