पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द
कास्की । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले आजदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ ।
सङ्घीय सरकारमातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिनअघि सिफारिस गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ ९ गते अस्पताललाई पूर्णरूपमा कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न भनेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा.डा भरतबहादुर खत्रीले जानकारी दिए ।
अस्पताल प्रशासनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको छ । पश्चिमाञ्चल अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि ४२ आइसोलेशन शैया, १७ आइसीयू शैया, सातवटा भेन्टिलेटर र १६ वटा एचडीयू शय्या रहेकामा अधिकांश प्रयोगमा आएका छन् ।