रौटहटको गौर अस्पताल अस्तव्यस्त,कोरोना संक्रमित बिरामी जोखिममा
रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गौर अस्पताललाई प्रभावकारी ढंगले उपचार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
अस्पतालमा रहेको १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन प्रयोगविहीन अवस्थामा छ । जनशक्तिको अभावका कारण कोरोना संक्रमित जोखिममा रहेका छन् ।
गौर अस्पताल भवन पछाडिपट्टिको अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाएर अस्पतालकै चिकित्सकहरु ड्यूटी मिलाएर कोभिडवार्डमा खटिने गरेका छन् ।
कोभिड अस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको आरोप लागिरहेको छ । गौर अस्पतालका निमित्त प्रमुख डा. कृष्ण साहले आईसीयू र भेन्टिलेटरका लागि जनशक्ति माग गरे पनि पाउन नसकेको बताए ।
कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आईसीयू र भेन्टिलेटर सेवा दिन नसकेको डा. साह बताउँछन् ।
पीसीआर ल्याबमा पनि कर्मचारी अभाव रहेको उनले बताए । गौर अस्पतालको पीसीआर ल्याबमा १४ जना कर्मचारी हुनुपर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेको डा. साहको भनाई छ । प्रदेशलाई हामीले मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको र सूचना जारी गरेर माग गरिसकेको उनको भनाई छ ।
कर्मचारी अभावमा अस्पताल र कोभिड वार्ड दुवै सञ्चालन गर्न गाह्रो भएको उनले बताए । जिल्ला अस्पताल गौरको नयाँ भवन बनेसंगै उक्त अस्पताललाई रेफर अस्पतालका रुपमा चिनिन्छ । तर अस्थायी कोभिड अस्पताल गौरमा अक्सिजनकै भरमा मात्रै उपचार भइरहेको छ ।
अस्पतालको समस्या समाधानका लागि जिल्लावासी समेत रहेका विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रको अगुवाईमा प्रमुख जिल्ला अधिकारीको समेत ध्यानकर्षण गरिएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न बुँदा माग गरेर ध्यानकर्षण गराएको मिश्रले जानकारी दिए । ध्याकर्षण पत्रमा ‘रौतहट जिल्लामा पनि कोरोना संक्रमित र मुत्युदरको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ ।
तर पनि जिल्ला स्वास्थ कार्यलय वा स्वास्थय निकाय रौतह द्वारा यस महामारी सम्बन्धि अनेक कमीकमजोरी देखिएका कारण र चहिने जति सुविधाहरू पाएर हाम्रो रौतहटको वासिन्दाहरुले ज्यान गुमाउनु परिरहेको’ उल्लेख छ ।
युवा समूहले अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्था,अस्पताल कम्तीमा १०० बेड,.जिल्ला अस्पतालमा नै अक्सिजन प्लान्ट सञ्चालनको माग गरेको छ ।
त्यस्तै बिरामी र बिरामीको कुरुवा लाई पोषण युक्त खानाको व्यवस्था, नेपाल सरकारले निशुल्क उपलब्ध गराएको औषधि उपलब्ध हुनुपर्ने, बिरामीको ल्याब टेष्ट अस्पतालमै हुनुपर्ने तथा अस्पतालमा भएको आम्दानी र खर्च मासिक रूपमा सूचना टास्नुपर्ने लगायत १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । तर अहिलेपनि अस्पतालमा कुनै सुधार नआएको मिश्रले जानकारी दिए ।