६ आश्विन २०८१, आइतबार

वनमन्त्री आलेले वितरण गरेको अक्सिजन सिलिण्डर भाइरल,‘सानो त्रुटी’ले ठूलो सहयोग ओझेलमा

प्रकाशित मिति :  25 May, 2021 12:05 pm


काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले डोटी अस्पताललाई ७५ वटा सिलिण्डर आफै उपस्थित भएर हिजो हस्तान्तरण गरे ।

कैलालीमा सेती प्रादेशिक अस्पताललाई ५० वटा सिलिण्डर आज  हस्तान्तरण गरे । मन्त्री आलेले डोटी जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरमा उनको फोटोसहितको स्टिकर समेत राखेर हस्तान्तरण गरेको देखिन्छ ।

अक्सिजन सिलिण्डर चीनले उपलब्ध गराएकोसँग मिल्दो छ । त्यसैले वन मन्त्री आलेले ‘अनुदानमा आएको सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेको’ भन्दै अहिले आलोचना भइरहेको छ भने सामाजिक सञ्जालमा भाइरल ।

मन्त्री आलेको सचिवालयका अनुसार चीनले अनुदानमा दिएको सिलिण्डर मध्ये स्वास्थ्य सेवा विभागबाट लिएको १५ वटा खाली सिलिण्डर मात्रै हो ।  सेती प्रादेशिक अस्पताललाई आज सिलिण्डर हस्तान्तरण गर्दै मन्त्री आलेले पनि भने,“मैले स्वास्थ्य सेवा विभागबाट कति सिलिण्डर लिए सोध्नुस् न पुरै खुल्लै छ त ! केही मान्छेहरूले गलत प्रचार गरिरहेका छन् ।”

उनले चीनबाट व्यापारीले ल्याएका सिलिण्डर किनेका थिए । जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालले सहयोगको आग्रह गर्दै पत्र नै लेखेपछि मन्त्री आलेले आफ्नै लागतमा सिलिण्डर किने ।

स्वास्थ्य सेवा विभागबाट ल्याएको १५ वटा खालीसहित १२५ वटा सिलिण्डर मध्ये केही बालाजु काठमाडौंमा भरियो भने केही भैरहवा अनि बाँकी नेपालगञ्जमा भरियो । भरिएका ७५ वटा सिलिण्डर हिजो डोटी अस्पतालमा पुगेको थियो ।

अस्पताललाई हस्तान्तरण गरिएको सिलिण्डर प्रचारमा आउँदा उनको फोटो टाँसिएको देखियो । चीनबाट आएका सबै सिलिण्डर उस्तै थिए ।

त्यसैले धेरैले अनुदानकै सिलिण्डर भनेर प्रचार गरिदिएपछि १५ वटा खाली अनुदानको सिलिण्डरले ११० वटा भरेर दिएको अक्सिजन सिलिण्डर नै ओझेलमा परेको छ ।

समान्य ध्यान नदिँदा सहयोग ओझेलमा

त्यसो त वनमन्त्री आले आफ्नै अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आउने गर्छन् । एउटा सार्वजनिक समारोहमा रुखले ‘कार्बनडाइअक्साड’ दिन्छ भनेपछि भाइरल भए ।

संयोगवस अहिले फेरि अक्सिजन सिलिण्डर बाँड्दा आलोचना र भाइरल दुबै भएको छ ।

मन्त्री आलेले आज ५० वटा भरिएका सिलिण्डर र ५० हजार मास्क सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्दै भने,“सबै अनुदानमा ल्याएको हो भनेर निकै चर्चा गरिरहेका छन्, मलाई त अचम्म लाग्यो, यो त मैले आफै व्यक्तिगत लगानीबाट किनेको हो, स्वास्थ सेवा विभागलाई सोध्नुस् न सबै खुलमखुल्लै छ, लिएको जम्मा १५ वटा खाली सिलिण्डर हो तर पीत पत्रकारिता गर्नेहरू लागिरहेका छन् ।”

खासमा सिलिण्डरमा फोटोसहितको पोष्टर टाँस्दा मन्त्री आलेको आलोचना भएको हो । संवेदनशील समयमा असंवेदनशील शैली अपनाउँदा

मन्त्री  आले आलोचना त तानिए नै, त्यसैमा सबै सिलिण्डर अनुदानको भन्ने परेपछि उनले गरेको सहयोग पनि ओझेलमा परेको छ । मन्त्री आलेको सचिवालयले भने पोष्टर टाँसिएकोबारे भने केही प्रष्ट पार्न चाहेन ।

प्रेस संयोजक बिमल विष्टले भने,“ हामीले यहाँबाट पठाउँदा टासिएको थिएन तर साथीहरूले कतै सिलिण्डर तलमाथि नपरोस् भने टाँसे वा के भयो म पनि प्रष्ट छैन ।”



प्रतिक्रिया दिनुहोस !