रोल्पा सुनछहरी गाउँपालिकामा २८ जना कोरोना संक्रमित थपिए, वडा नं. ३ सिल गरियो
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
गाउँपालिकाले आज गरेको एन्टिजेन परीक्षणमा १९ जना पुरुष र ९ जना महिला गरि २८ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिका पोबाङ स्वास्थ्य इन्चार्ज जनक गिरीले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर २ र ३ गाममा पोजेटिभ देखिनेहरु प्रायः पसले कर्मचारी सुरक्षाकर्मी र केही स्थानीयहरू रहेका वडा अध्यक्ष मोतबहादुर घर्तीमगरले बताए ।
गाउँपालिकाले वडा नम्बर २ भित्रीगाम र वडा नम्बर ३ बाहिरीगामलाई लक्षित गरि गरेको परिक्षणमा ४० जना पुरुष र १२ जना महिलाको एन्टिजेन परिक्षण गरिएको थियो ।
कोरोना पोजेटिभ देखिएकाहरूको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको इन्चार्ज गिरीले बताए । स्वास्थ्य अवस्था सामान्य रहे पनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिएको र आफ्नै घरको क्वारेन्टाइनमा सुरक्षीत बस्न परामर्श सहित पठाइएको इन्चार्ज गिरीले जानकारी दिए ।
गाउँपालिकाको विभिन्न स्थानमा चरणबद्ध रुपमा गरिएको एन्टिजेन परिक्षणमा हाल सम्म ५२ जना लाई पोजेटिभ देखिएको छ । अहिलेसम्म पोजेटिभ भेटिएका ५२ जनाको स्वास्थ्य अवस्था सबैको सामान्य रहेको र उहाँहरु सबैजना होम क्वारेन्टाइनमै बसिरहेका गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताए।
साथै कोरोना पोजेटिभ देखिनेको सङ्ख्या बढिरहेकोले आजै वडा नम्बर ३ बाहिरीगामले जेठ २४ गते सम्म वडालाइ सिल गर्ने निर्णय गरिएको कुरा वडा अध्यक्ष घर्तीमगरले बताए ।