रोल्पामा थप ५५ जनामा कोरोना पुष्टि, अहिलेसम्म १२ स्वास्थ्यकर्मी र ३ सुरक्षाकर्मी संक्रमित
उमा केसी-
रोल्पा । रोल्पामा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् भने २० जना निको भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ५५ जनामा संक्रमण पुष्टि हुँदा २० जना निको भएका हुन् । यससँगै रोल्पामा सक्रिय संक्रमितको संख्या ८०१ पुगेको छ ।
१२ स्वास्थ्यकर्मी र ३ सुरक्षाकर्मी संक्रमित
रोल्पामा कोरोनाको दोस्रो लहर फैलिएपछि कोभिड–१९ विरुद्ध पहिलो पंक्तिमा रहेर काम गर्ने १५ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोनावाट संक्रमित भएका छन्।
यसरी संक्रमित हुनेहरुमा १२ जना स्वास्थ्यकर्मी र ३ जना सुरक्षाकर्मी रहेका छन् ।
कोरोनाको दोश्रो लहरसंगै वैशाख तेश्रो हप्तापछि रोल्पामा देखिन थालेको संक्रमणले भयावाह रुप लिएपछि पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि यसवाट प्रभावित भएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय रोल्पाका अनुसार जिल्लामा रहेका झण्डै ४ सय स्वास्थ्यकर्मी मध्ये हालसम्म १२ जना संक्रमित भई विभिन्न ठाउँमा रहेका आईसोलेशन र होम आइसोलेशनमा बसेका छन् ।
“कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहेका बेला उनीहरू संक्रमित भएका हुन् ,” स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले भने ।
पहिलो पंक्तिमै रहेर कोरोना विरुद्ध लडिरहेका रोल्पाका ३ जना प्रहरी पनि संक्रमित भएका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
कोरोना विरुद्ध लड्दा तथा जनताको दैनानुदिनका समस्या समाधानका लागि अहोरात्र अग्रपंक्तीमा रहेर खट्दा जनतासंगै प्रहरी पनि संक्रमित हुनुपरेको सुवेदीको भनाई छ ।
संक्रमितहरुका लागी जिल्ला प्रहरी परिसर भित्र १० वेडको आईसोलेशन केन्द्र पनि स्थापना गरिएको सुवेदीले जानकारी दिए । रोल्पामा ४४८ जना प्रहरी कार्यरत रहेका छन् ।
जिल्लाका स्थानीय तहहरुले सञ्चालन गरेका आईसोलेशन केन्द्रको सुरक्षा दिने काम पनि प्रहरीले गरिरहेको छ । “रोल्पा नगरपालिकामा रहेको आइसोलेसन केन्द्रको सुरक्षा नेपाली सेनाले गरेपनि जिल्लाका अन्य ९ स्थानीय तहको सुरक्षा प्रहरीवाट हुदै आएको छ,” प्रहरी नायव उपरिक्षक सुवेदीले भने ।
जिल्लामा सशस्त्र प्रहरी बलले पनि अन्य सुरक्षा निकाय संग समन्वय गरि कोरोना विरुद्ध लडिरहेको सशस्त्र प्रहरी नायव उपरिक्षक होमनाथ भट्टराईले जानकारी दिए ।
“टिलामा रहेको वेस क्याम्पस र जिल्लामा गरि ५८ जना सशस्त्र प्रहरी अन्य सुरक्षा अंगसंग समन्वय गरि कोरोना विरुद्ध खटिरहेका छन्” भट्टराईले भने । सशस्त्र प्रहरी बल रोल्पाले पनि कार्यालय परिसरमा १० वेडको आइसोलेशन केन्द्र स्थापना गरेको छ ।
कोरोनो संक्रमणवाट मृत्युभएकाहरुको शव व्यवस्थापनका साथै जिल्ला सदरमुकाममा रहेको आइसोलेशन केन्द्रको सुरक्षा नेपाली सेनाले गर्दै आईरहेको छ ।
“जिल्ला सदरमुकाम, दहवन र रुकुम पूर्व समेत गरि ५० जना सेना कोरोना विरुद्ध प्रत्यक्ष खटिरहेका छन् भने आवश्यकता अनुसारका अन्य काममा थप सेना पनि परिचालित भएका छन्” वटुक दल गण रोल्पाका प्रमुख सेनानी अरुण श्रेष्ठले भने ।
वटुकदल गणले पनि संक्रमित सेनाहरुलाई व्यारेक भित्रै राखी उपचार गर्नका लागी आइसोलेशन केन्द्रको स्थापना गरेको जनाएको छ ।