७ मंसिर २०८१, शुक्रबार

‘बुद्ध वाज् बर्न इन नेपाल’ टिसर्ट लगाएर मात्र बुद्धत्व जोगाउन सकिन्छ ?

प्रकाशित मिति :  26 May, 2021 7:37 am


ज्यो. गुरु दिवाकर पन्त-

‘वैशाख शुक्ल पूर्णिमा’ जसलाई ‘गौतम बुद्ध जयन्ती’ पनि भनिन्छ । यही पूण्य पावन तिथिका दिन सिद्धार्थ गौतम बुद्धको जन्म भारत वर्षअन्तर्गत यस पावन भूमि नेपाल देशको लुम्बिनी क्षेत्रमा भएको थियो । यही पावन तिथिमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभयो र यही तिथिमै महानिर्वाण प्राप्त गर्नुभयो । यसर्थमा वैशाख शुक्लपूर्णिमा तिथि निकै महत्वपूर्ण मानिन्छ । यस तिथिमा बुद्धजयन्ती संसारभर मनाइँदै आइएको छ ।

तत्कालीन राजमहलमा राजकुमारका रूपमा जन्मेका र भावी राजाका रूपमा रहेता पनि धार्मिक–आध्यात्मिक अन्तचेतनाका कारण सम्पूर्ण भौतिक सुख–सुविधा त्याग गरेर भगवान गौतम बुद्धले अनेकौ दुःख–कष्ट सहेर मानव जातिका लागि शान्तिको ज्योति प्रदान गर्नु भयो । यो ज्योति आज संसारभर फैलिएको छ, जसको केन्द्रविन्दु वा उद्गमस्थल नेपाल हो ।

जसरी मक्का–मदिना ईश्लाम धर्माबलम्बीहरूका लागि पवित्र स्थल बनेको छ, इसाईहरूका लागि जेरुसेलम वा भ्याटिकन सिटी पवित्रस्थल बनेको छ, विश्वभरका बौद्धमार्गी र हिन्दूहरूका लागि लुम्बिनी जीवनको एक पवित्र गन्तव्य हो । तर सो अनुसार नेपालमा यसको संरक्षण र प्रवद्र्धन हुन सकेको छ ? यो अत्यन्त गम्भीर प्रश्न बनेर खडा भएको छ ।

विश्वभर फैलिएको बुद्ध धर्म

नेपालको लुम्बिनीमा भगवान बुद्धद्वारा प्रतिपादित धार्मिक–आध्यात्मिक दर्शन तथा अवधारणा संसारभर बुद्ध धर्मका रूपमा फैलियो । यसलाई संसारभर फैलाउन तत्कालीन बौद्ध धर्म गुरुहरू, हिन्दू धर्मका अनुयायीहरूले ठूूलो अथक मेहनतन गरेको छर्लङ्ग हुन्छ । हामी एकैछिन कल्पना गरौँ कि आजको जस्तो सूचना प्रविधिको युग नभइ त्यसबेलाको तमाम कठिनाइका बीच बुद्ध धर्मको सुगन्ध संसारभर फैलाउन धर्म गुरुहरूले कति ठूलो मेहनत गरेका होलान ?

विश्वमा थाइल्यान्ड, बर्मा, भुटान, श्रीलंका, लाओस, मंगोलिया, जापान, सिंगापुर, दक्षिण कोरिया, ताइवान, चीन र स्वशासित क्षेत्र तिब्बत, हङकङ्ग, मकाओ, मलेसिया, भियतनामलगायत देशमा बुद्ध धर्म बहुसंख्यक जनताले अबलम्बन गर्ने धर्म रहेको छ ।

नेपाल र भारतमा पनि बुद्धमार्गीहरूको जनसंख्या उल्लेख्य छ । हरेक हिन्दूले बुद्धलाई अन्य देवीदेवताझैँ पूज्ने भएकाले नेपालका सबै हिन्दू बुद्धमार्गी त सबै बुद्धमार्गी हिन्दू नै हुन् भन्न सकिन्छ । साथै, पछिल्ला वर्षहरूमा इसाई बाहुल्य रहेका अमेरिका, बेलायत, नर्वे, क्यानडाजस्ता देशका नागरिकमा पनि बुद्ध धर्मप्रति गहिरो रुचि देखा पर्न थालेको छ भने उनीहरू क्रमशः बुद्ध धर्म अपनाउन थालेका छन् । कतिपयले ठ्याक्कै बुद्ध धर्म नअपनाए पनि यसबारेमा चासो राख्ने क्रम निकै बढेको छ ।

यस धर्मको यो स्तरको बृहत्तर फैलावटका लागि पुस्तौं–पुस्तादेखि निरन्तर प्रयास हुँदै आएको छ । नेपालको लुम्बिनीमा बलेको दियोको ज्योति विश्वको यति ठूलो भू–भागसम्म फैलिन त्यत्तिकै सकेको होइन । अझ नेपालजस्तो सानो देशका जति नै ठूलो प्रतिभा विश्वस्तरमा उठ्न निकै नै जटिलताहरू रहेको अहिलेका धेरैले महशुस गरेकै कुरा हो । यस्तो जतिलतामा बुद्ध दर्शनलाई विश्वस्तरमा फैलाउन कति ठूलो त्याग र तपस्या भयो होला ? हामी दिमागले कल्पना गर्नसमेत सक्दैनौं ।

नेपालका बुद्धमार्गी धर्मान्तरणको निशानामा

नेपालमा २०६८ सालमा गरिएको जनगणनालाई हेर्दा मुख्य १० वटा धर्म मान्ने मानिस बसोबास गरेको देखिन्छ, जसमा ८१.३ प्रतिशत हिन्दू, बौद्धमार्गी ९ प्रतिशत, मुसलमान ४.४ प्रतिशत, किरात ३ प्रतिशत र इसाई १.४ प्रतिशत रहेको देखिन्छ ।

यसअघि २०५८ को जनगणनाले देखाएको धार्मिक वस्तुस्थितिलाई हेरौं– जसमा ८०.६ प्रतिशत हिन्दू, १०.७४ प्रतिशत बौद्ध, मुसलमान ३.६ प्रतिशत, किरात ३.६ प्रतिशत रहेको देखिन्छ भने इसाई ०.४५ प्रतिशत देखिन्छ ।

केवल यो एक दशकका अन्तरालको धर्मको जनसाङ्खिक अवस्थालाई मात्र हेर्ने हो भने पनि नेपालमा सबैभन्दा धेरै बौद्ध मार्गी र किराँत धर्माबलम्बी धर्मान्तरणको निशानामा परेको स्पष्ट देखिन्छ । सामान्य अवलोकन पद्धतिबाट मात्र अनुसन्धान गर्ने हो भने पनि नेपालको जनजाति समुदाय धर्मान्तरणको सबैभन्दा बढी धर्मान्तरको केन्द्रविन्दु बन्न पुगेको स्पष्ट देखिन्छ जसमा तामाङ्ग, मगर, गुरुङ्ग, राई, लिम्बु, भोटे, काठमाडौं उपत्यकाका नेवार समुदायका केही समूह जस्ता जनजाति समुदायलाई सबैभन्दा बढी केन्द्रमा राखेर धर्मान्तरण हुँदै आएको देखिन्छ ।

नेपालमा जनजाति समुदायका मानिसले परम्परादेखि नै बौद्ध धर्म अंगीकार गर्दै आएका हुन् । हिन्दू दर्शनअनुसार भगवान बुद्धलाई भगवान विष्णुको ९ औँ अवतार मानिने हुँदा नेपालमा सबै हिन्दूहरूले बुद्धलाई पूर्ण आस्था, श्रद्धा र विश्वासका साथ पूज्ने गर्दछन् । तथापि, जनसंख्याले मान्ने धर्मको आधारलाई हेर्दा सबैजसो जनजाति समुदायले बुद्ध धर्म मान्ने र हिन्दू धर्म पनि मान्ने यथार्थ व्यवहार र दर्शन दुवैमा अनुभूत गर्नेगरि नै देखिन्छ ।

२०५८ मा बौद्ध धर्म मान्नेहरू १०.७४ प्रतिशत रहेकोमा २०६८ मा आइपुग्दा ९ प्रतिशतमा खुम्चेको छ । त्यसैगरी ३.६ प्रतिशत रहेको किरात धर्मावलम्बीहरूको जनसंख्या ३ प्रतिशतमा झरेको छ । जबकी, हिन्दू धर्माबलम्बी र ईश्लाम धर्मावलम्बीहरूको तथ्यांक वृद्धि भएको देखिन्छ । २०५८ मा जम्मा ०.४५ प्रतिशत मात्र इसाईको तथ्यांक रहेकोमा, २०६८ मा ह्वात्तै बढेर १.४ प्रतिशत हुन पुगेको छ ।

तथ्यांकले देखिएको बुद्धमार्गी र किराँतको खस्कँदो क्रम, हिन्दू र ईश्लामको बढ्दो क्रम, तथा इसाईको द्रुततर बृद्धिको गतिले नेपालमा धर्मान्तरणको मुख्य निशाना जनजाति समुदायका बुद्धमार्गी रहेको छलङ्ग हुन्छ । थपिएका इसाई विदेशबाट आएको नभइ नेपालका अन्य धर्मका मानिसहरूलाई धर्मान्तरण गरिएको हो ।

विसं २०११ (सन १९५२/५४) को जनगणनामा नेपालमा एक जना पनि इसाई नभएको अवस्था थियो । विसं २०१८ (सन १९६१) को जनगणनामा जम्मा ४५८ जना मात्र इसाई रहेको देखिन्छ । २०५८ को जनगणनासम्म आइपुग्दा १ लाख १ हजार ९ सय ७६ पुगेको देखिन्छ । वि.सं. २०४८ देखि २०५८ को एक दशकमा नेपालमा २२६ प्रतिशत भन्दा बढीले इसाईकरण बढेको केन्द्रीय तथ्यांक विभागको तथ्यांकले देखाउँछ । २०६८ को जनगणनासम्म आइपुग्दा अर्थात दश वर्ष भित्रमा नेपालमा इसाईको संख्या ३ लाख ७० हजार हुन पुगेको देखिन्छ ।

तथ्यांकलाई हेर्दा इसाईको जनसंख्या सैयौँ प्रतिशतको दरमा वृद्धि हुने र बुद्धमार्गी तथा किरातको जनसंख्या घट्नुले नेपालमा बुद्धमार्गीहरूलाई लक्षित गरि धर्मान्तरण अभियान केन्द्रीय रहेको छर्लङ्ग हुन्छ । केन्द्रीय तथ्यांक विभागले नेपालमा इसाई धर्म द्रुतगत तरिकाले वृद्धि भइरहेको र त्यसमा जनजातिहरू खासगरी तामाङ्ग समुदाय लगायतलाई धर्मान्तरण गरिएको आफ्नो जनगणना प्रतिवेदनमा नै उल्लेख गरेको छ ।

२०४८ देखि २०५८ को एक दशक र २०५८ देखि २०६८ सम्मको अर्को दशकमा देखिएको धार्मिक अवस्थाको परिवर्तनको तथ्यांकलाई हेर्दा पनि यो विषय स्वतः पुष्टि हुन पुग्दछ । त्यसैले नेपालमै जन्मनु भएका बुद्धको भूमिमा रहेर बुद्ध धर्म अवलम्बन गरिरहेका सबै बुद्धमार्गिहरूले बुद्धजयन्तीका सन्दर्भमा छातिमा हात राखेर सोच्नैपर्ने बेला आएको छ । आफूलाई अगुवा भन्न रुचाउने जनजाति समुदायका अगुवाहरूले पनि गम्भीर भएर आफ्नो समुदायको धर्म संस्कृति रक्षार्थ काम कहिलेदेखि थाल्ने ?

बुद्ध र पर्यटन

नेपालका सडकमा बेलाबेला ‘बुद्ध वाज् बर्न इन नेपाल’ लखेको टिसर्ट लगाएर हिँडेका मानिसहरू देखिन्छन् । त्यसैगरी, केही ट्याक्सीमा पनि ‘बुद्ध वाज् बर्न इन नेपाल’ लेखेको देखिन्छ ।

नेपाल सरकारका केही नीतिगत डकुमेन्टहरूमा बुद्धका प्रसङ्गहरू राखिने गरेको पनि देखिन्छ । भारतले बुद्धलाई आफ्नो देशमा जन्मेको भनि आधिकारिक डकुमेन्टदेखि अन्तर्राष्ट्रिय जगतमा फैलाएको भ्रम र अफवाहलाई चिर्न केवल टिसर्ट र ट्याक्सीमा लेखेर वा यस्तै हल्काफुल्का कुरा गरेर मात्र सम्भव छैन ।

यस्तो कार्यले केही न केही योगदान गरे पनि यो चर्काे खडेरीमा परेको एक दुई थोपा पानी जस्तो हो । त्यसका लागि योजनाबद्ध र गम्भीर ढंगले राष्ट्रिय र अन्तर्राट्रिय अभियानहरू चलाउनु पर्ने देखिन्छ जसका लागि अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसार गर्नुपर्ने पनि हुन्छ ।

बिडम्बना नेपालको राजनीति र सरकारी सोच यस्तो देखिँदै देखिँदैन । राजनीतिक रंग दिएर विषय वस्तुलाई राजनीतिक फाइदा लिनेगरि गरिने कामबाहेक नेपालको राजनीतिक र सरकारी वृत्तबाट कुनै काम भएको देखिँदैन ।

भगवान बुद्ध जस्तो वैभव पाएर पनि नेपालले उक्त निधिलाई बुझ्न र सदुपयोग गर्न सकेको छैन् । ‘भिल्लका देशमा मिल्किन्छन् मणि’ भनेझैँ संसारभरका नागरिकहरूले भगवान गौतमबुद्धको महत्व दिन प्रतिदिन बुझ्दै गए पनि नेपालका शासक प्रशासकले यसलाई कुनै वास्ता गरेको देखिँदैन ।

निजी क्षेत्रका व्यवसायीहरूले आफ्नो स–सानो प्रयासबाट लुम्बिनीको प्रवद्र्धन गर्दै आएको भए पनि त्यतिले छेउ पनि पुग्दो छैन । यस्तै, देशभित्रको धर्मान्तरणका विषयमा ‘कानमा तेल हालेर बस्नु’ ले नेपालको राजनीति वृत्त बौद्ध धर्म संरक्षण र सम्वद्र्धनमा संवेदनशील छैन भन्न सकिन्छ ।

संसारको कुल साढे सात अर्ब जनसंख्या मध्ये करिव ८ देखि १० प्रतिशत जनसंख्या अर्थात् ५५ करोड जनसंख्याले बौद्धधर्म अंगिकार गर्दै आएको छ । (यो संख्या अझ धेरै रहेको भनिने गरिन्छ ।) यसरी हेर्दा यत्रो ठूलो जनसंख्याको सानो हिस्सा मात्र नेपालमा आफ्ना भगवान अर्थात भगवान गौद्धमबुद्धको जन्मस्थल लुम्बिनी दर्शन गर्न आए भने पनि त्यो नेपालका लागि आम्दानीको छेलोखेलो स्रोत हुनेछ ।

समन्वयको खाँचो

नेपालमा पछिल्ला केही वर्षहरूमा ओमकार परिवारका दुई मुख्य प्रशाखा हिन्दू र बुद्ध मार्गीका बीच फाटो ल्याउन खतरनाक प्रयासहरू भइरहेका छन् । यसको चपेटामा केही अतिवादीहरू सक्रिय भइरहेका छन् भने उनीहरूले निहीत स्वार्थका लागि यी दुई प्रशाखाका बीच द्वन्द्वात्मक घटनाहरू घटाउने प्रयास गरिरहेको देखिन्छ ।

ओमकार परिवार हिन्दू, बौद्ध, किरात, जैन, शिख शाखा एक आपसमा अन्तर सम्बन्धित र परस्पर निर्भर शाखाहरू हुन् । तर नेपालमा सदियौँदेखि विद्यमान रहेको ओमकार परिवारको मिलन, सद्भाव र प्रेममा खलल नल्याएसम्म आफ्नो स्वार्थ पूराा नहुने देखेपछि चालिएको कदमप्रति ओमकार परिवारका सदस्यहरू नै अनभिज्ञ रहनु र षड्यन्त्रमा फस्नु बिडम्बनाको विषय रहेको छ । ‘तँलाई खाने बाघले मलाई पनि खान्छ’ भन्ने सत्यतालाई नबुझि आपसमै लड्नु जस्तो मुर्खता सबैले बुझ्नु पर्ने अवस्था रहेको छ ।

हाम्रा पितापुर्खाले स्थापित गरिदिएको शान्तिको रङ्ग हाम्रो रगत–रगतमा सञ्चारित रही रहेकाले अहिलेसम्म नेपालमा धार्मिक हिंसा नभएको हो । आफ्ना पिता पूर्खाले सँगालेर ल्याएको विरासतलाई आफुले पनि निरन्तरता दिने र जगेर्ना गर्नु पर्ने दायित्वलाई बुझ्दै कदम चाल्न ढिला गर्न मिल्ने समय छैन् ।

बुद्धजयन्तीको सन्दर्भमा यो सत्य बुझ्न हामी सबैलाई आशिर्वाद दिनुहोस् भनि हामी सबैले भगवान गौतमबुद्धसँग प्रार्थना गरौँ ।

(लेखमा समावेश तथ्यांकको स्रोत– केन्द्रीय तथ्यांक विभाग, worldpopulationreview.com)
(लेखक पन्त: ज्योतिषी, वास्तुविद्, रत्नविद्, हस्तरेखाविद् हुन् । )



प्रतिक्रिया दिनुहोस !