७ माघ २०८१, सोमबार

बिध म्यानेजमेन्ट प्रालि विवादमा, वनमन्त्री र रोल्पालाई कसरी बेचियो महँगोमा सिलिन्डर ?

प्रकाशित मिति :  26 May, 2021 4:03 pm


काठमाडौं । डोटी जिल्ला अस्पतालमा वन तथा वातावरण मन्त्री प्रेम आलेले तीन दिनअघि अक्सिजन भरिएको सिलिन्डर बाँडे ।

सिलिन्डरमा मन्त्रीको फोटोसहितको स्टिकर टाँसेर हस्तान्तरण गरियो ।

अक्सिजन सिलिन्डरमा टाँसिएको फोटो र स्टिकरलाई लिएर यति आलोचना भयो कि मन्त्री आलेले अक्सिजन सिलिन्डर किनेको बिल नै सार्वजनिक गर्न बाध्य भए ।

बिल हेर्दा धेरैको ध्यान अक्सिजन सिलिन्डर र मूल्यमा गयो । मन्त्री आलेले जहाँबाट सिलिन्डर किनेका थिए त्यो कम्पनी भने विवादका बीच पनि कति सक्रिय रहेछ भन्ने धेरैले ख्याल गरेनन् ।

सँगसँगै, रोल्पामा पठाइएको अक्सिजन सिलिन्डरको बिल सार्वजनिक भयो । रोल्पा पठाइएको सिलिन्डरको बिल मन्त्री आलेले किनेको भन्दा थप ३ हजार महँगो छ  जसका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

मूल्य कसरी फरक पर्‍यो ?

बिध म्यानेजमेन्ट आफैमा विवादास्पद कम्पनी हो । कोरोना संक्रमणको पहिलो लहरमा यो कम्पनीले परीक्षण गर्न नमिल्ने गुणस्तरहीन आरडीटी किट झिकाएर सरकारलाई भिडाउन खोजेको खुलेको थियो ।

गैरकानूनी क्रियाकलापमा संलग्न भएको खुलेपछि काठमाडौंका कतिपय हस्पिटलले विध म्यानेजमेन्टले सञ्चालन गरेको ल्याबसँगको सहकार्य तोडेका थिए ।

ओम्नी ग्रुप चर्को विवादमा परेपछि त्यसलगत्तै उदाएको जस्तो देखिने यो कम्पनी अहिले अक्सिजन सिलिन्डर बिक्री बिक्री वितरणमा पनि सक्रिय छ ।

बिध म्यानेजमेन्टका अध्यक्ष भीमकान्त अर्थात बिके भण्डारीका अनुसार रोल्पा गएका सिलिन्डरमा नोजल्स र फ्लोमिटर पनि छन् । उनले मन्त्री आलेले लगेको सिलिन्डरमा नोजल्स र फ्लोमिटर नगएको तर्क गरेका छन् ।

तर डोटी अस्पतालका प्रमुख (मेसु) कृष्ण जोशीले भने फ्लोमिटर नआए पनि नोजल्स भने भएको बताएका छन् ।

अध्यक्ष भण्डारीले बोलेको कुरा पनि यसमा केही फरक परेको देखिएको छ ।

सरकारले तोकेको सिलिन्डरको परल मूल्य र जिल्लामा पठाइएको विवरण

सरकारले तोकेको सिलिन्डरको परल मूल्य र जिल्लामा पठाइएको विवरण

खासमा यो कम्पनीले सिलिन्डर नै महँगोमा बेचिरहेको छ । कम्पनीले बजार मूल्य भन्दा झण्डै दोम्बरमा सिलिन्डर बेचिरहेको देखिएको छ । संकटको फाइदा उठाइरहेको यो कम्पनीबाट बहालवाला मन्त्री, पूर्वमन्त्रीबाटै समन्वयमा गएका पनि ठगिएका छन् तर पनि कोही बोल्न सकेको छैन ।

सरकारले अस्पतालहरूलाई पठाएको ४० लिटरकै सिलिन्डरको प्रति सिलिन्डरको मूल्य सबै गरेर १५ हजार ८०० को आसपासमा छ । बिधले नै बहालवाला मन्त्रीकै नाममा बिल काट्दा २३ हजार रुपैयाँमा काटेको छ भने पूर्वमन्त्रीको सचिवालयले समन्वय गर्दा गाउँपालिकाको नाममा ३ हजार महँगो अर्थात २६ हजार रुपैयाँको बिल काटेको छ त्यो पनि भ्याटबाहेक ।

कम्पनीका अध्यक्ष भण्डारीले लुम्बिनी सञ्चारसँग गरेको कुराकानीलाई आधार मान्ने हो भने रोल्पामा नोजल्स र फ्लोमिटर थपिदा ३ हजार बढि पर्न गयो । अक्सिजनपनि उनैले भरिदिएका छन् जसले गर्दा भ्याटबाहेक २६ हजार रुपैयाँ पर्न गयो ।

रोल्पामा भएको के हो ?

रोल्पाका बिध म्यानेजमेन्ट प्रा.लिले गाउँपालिकाहरूको नाममा बिल काटेर अक्सिजन सिलिन्डर पठाएको छ । समन्वय पूर्वमन्त्री वर्षमान पुनले गरिरहेका छन् । रोल्पामा गएको सिलिन्डर ढुवानी खर्च, अक्सिजन भरेको समेतको २६ हजार रुपैयाँ हो ।

म्यानेजमेन्टका अध्यक्ष भण्डारीले भने, “अक्सिजन समेत हामी आफैले भरेका छौं त्यसैले यो त झन सस्तो हो ।” काठमाडौंमा ४० लिटरको सिलिन्डरमा अक्सिजन भर्दा कम्तिमा ६ सय र बुटवलमा बढीमा ११ सय रुपैयाँसम्म भर्ने गरेका छन् भने काठमाडौंबाट रोल्पासम्म पुग्न सानो गाडीले ४० हजार रुपैयाँसम्म भाडा लिन्छन् । सबै जोड्दा पनि सरकारले तोकेको परल मूल्य भन्दा रोल्पा पुगेको अक्सिजन सिलिन्डर निकै महङ्गो पर्न गएको छ ।

बिध म्यानेजमेन्टले वन तथा वातावरण मन्त्रीलाई बेचेको अक्सिजन सिलिण्डरको मूल्य

लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले आफूहरूले ढुवानीसहित २६ हजार तिरेको जानकारी दिए । उनले भने,“अरु हामीले केही थप तिरको छैनौं सबै जोडेर बिल सबै गाउँपालिकाको नाममा आएको छ र कम्पनीको खाता नम्बर दिइएको छ सिधै भुक्तानीको लागि ।”
अध्यक्ष खड्काले भने,“ नियम अनुसार सूचीकृत हुनुपर्छ, त्यसैले सूचीकृत हुन भनेका छौं । नियमअनुसार भुक्तानी गर्छौं ।”

सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनलेपनि अक्सिजनको सबै रकम गाउँपालिकाले तिरेको बताए । उनले भने,“ हामीले सिधै कम्पनीकै खातामा रकम जम्मा गरेका हौं, यस्तो बेला पलह गर्नुपनि महत्वपूर्ण कुरा हो तर बिल भने सबै गाउँपालिकाले तिरेको हो ।

बिध म्यानेजमेन्टले रोल्पा पठाएको सिलिण्डरको मूल्य

नेता पुनको प्रष्टीकरण

नेता वर्षमान पुनले गाउँपालिका नगरपालिका र जिल्ला अस्पतालको अनुरोधमा समन्वय मात्रै गरेको बताएका छन् । उनले आजको मितिसम्म सरकारबाट कुनै सामाग्री नलिएको समेत प्रष्ट पारेका छन् ।

जिल्लामा एमाले नेतृत्वले आफूलाई बदनाम गर्न खोजेको नेता पुनको भनाइ छ । उनले भनेका छन्,“कोरोना महामारीमा जिल्लामा अक्सिजन सिलिन्डर मेरो पहलमा तीन पटक पठाएको हो, यो बिषय सार्वजनिक नै छ, नपा, गापा र जिल्ला अस्पतालको अनुरोधमा गर्दै आएकोछु, यो काम एमाले नेतृत्व संघीय र प्रदेश सरकारको होइन र ?आजको मितिसम्म एक सिन्को पनि सरकारबाट कुनै सामाग्री लिएको छैन, बिक्री वा कुनै प्रकारको दूरूपयोगको प्रसंग कसरी आयो ?”

कोरोना महामारीमा सबैले आ–आफ्नो ठाउँबाट रचनात्मक काम गर्न अग्रह गर्दै जनताको एक एक जीवन रक्षामा लाग्न आग्रह गरेका छन् ।संकटको समय राजनीति गर्नु अपराध भएको उनको टिप्पणी छ ।

बिध म्यानेजसमेन्टको शक्ति

हुन त संकटको बेला अक्सिजन सिलिन्डर पाउन गाह्रो छ तर एउटै कम्पनीले फरक फरक मूल्यमा सिलिन्डर बेचेको बिल सार्वजनिक भएपछि प्रश्न उठेको छ । साथै बहालवाला मन्त्री ,पूर्वअर्थमन्त्रीसम्मलाई हाँकाहाँकी ठगेपछि बिध म्यानेजमेन्टको ‘शक्ति’ को बजारमा चर्चा भने चलिरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !