३ आश्विन २०८१, बिहिबार

रोल्पामा परम्परागत भेडापालनलाई व्यवसायिक बनाउन सुरु

प्रकाशित मिति :  27 May, 2021 3:54 pm


फाइल फोटो

उमा केसी-

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले परम्परागत भेडापालनलाई व्यवसायिक बनाउन पहल थालेको छ ।

भेडापालेर जीविकोपार्जन गरिरहेका कृषकहरूलाई चालु आर्थिक वर्ष देखी बजेट र प्राविधिक सहयोग मार्फत प्रविधि र बजारसंग जोड्ने कार्यक्रम अघि सारेको हो ।

गाउँपालिकाले तीन वर्षसम्म उनीहरुलाई सहयोग गर्ने भएको छ । चालु आर्थिक वर्ष २० लाख बराबरको सहयोग गरिसकेको छ ।

संघीय सरकारको पशुपंक्षी विकास मन्त्रालयको १० लाख रुपैयाँ र गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा गाउँपालिकाले सो योजना अघि सारेको हो । यस वर्ष भेडाका २०० वटा पाठापाठी हस्तान्तरण गरिसकेको छ ।

सोही कामका लागि गाउँपालिकाको पशु शाखा मार्फत १ जना पशुविकास प्राविधिक खटाईएको छ । प्राविधिकले कृषकहरुलाई उपलव्ध गराएको भेडाको पाठापाठीको उपचारात्मक कामका साथै आवश्यकता अनुसार अन्य प्राविधिक सहयोग स्थलगत रुपमै गर्दै आएका छन् ।

भेडापालक कृषकहरुको ५ वटा समूह वनाइ ३५ कृषकहरुलाई पाठापाठी सहयोग गरिएको छ । गाउँपालिकाले कम्तिमा ५० वटा भेडापालन गर्दै आएका कृषकहरुलाई सो सहयोग गरेको वताएको छ ।

गाउँपालिकाले दोश्रो वर्ष त्यसको प्रविधि हस्तान्तरणको कामलाई विशेष जोड दिने योजना बनाएको छ । गाउँपालिकाको योजना अनुसार दोश्रो वर्ष सहयोग गरिएका कृषकको भेडापालनका लागि प्रयोग हुने खोर र गोठ सुधारका काम हुने छन् ।

परम्परागत ढंगले निर्माण गरिएका खोर र गोठका कारण भेडाको उन र मासुमा अपेक्षाकृत गुणस्तर नभएको गुणस्तर सुधार गर्न तथा सरसफाईको अभावमा पाठापाठीहरु मर्ने मात्रा न्यूनिकरण गर्न गाउँपालिकाले यस्तो योजना अघि सारेको हो ।

तेश्रो वर्ष गाउँपालिकाले वजार प्रवद्र्धन तथा भेडाको मूल्य अभिवृद्धीलाई जोड दिने जनाएको छ । भेडाको उनलाई प्रविधिको प्रयोग मार्फत मूल्य अभिवृद्धी गरि स्थानीय स्तरमै बहुमुल्य सामान तयारी गर्ने सोच बनाएको छ ।

गाउँपालिकाले भेडाको उनवाट गलैचा,कम्वल, राडीपाखी वनाउनका लागि योजना बनाएका छ । त्यसरी तयारी सामानको जिल्ला वाहिर वजारीकरणको लागि पनि सहयोग गर्ने गाउँपालिकाले योजनामा समावेश गरेको छ ।

चालु आर्थिक वर्षका लागि तोकिए अनुसारको कृयाकलाप सम्पन्न भएकाले आफैले स्थलगत अवलोकन गरेको गाउँपालिका अध्यक्ष आशबहादुर पुन मगरले जानकारी दिए ।

“जिल्लामै भेडापालनका लागि यति ठूलो सहयोग यस पूर्व कसैले गरेको थिएन हामीले योजनावद्ध र संगठित रुपमा अगाडी बढ्दै परम्परागत पेशालाई आधुनिकरण गर्ने पहल थालेका हौं,” अध्यक्ष पुनले भने ।

पेशालाई लोप हुन नदिन तथा व्यवस्थित गरि व्यवसायिकरण गर्न सहयोग गरेको अध्यक्ष पुनको भनाई छ । गाउँपालिकाको यो सहयोगले ३५ जना युवायुवती प्रत्यक्ष रोजगारीमा संलग्नका छन् ।

“गाउँपालिकाको यो सहयोग संगै वैदेशिक रोजगारीमा जान वाध्य युवाहरूले गाउँमै रोजगारी पाउन थालेका छन्” स्थानीय हर्क घर्तीमगरले भने । बाबुबाजेको पेशा लोप हुन लागेको बेला परम्परागत पेशाको संरक्षण गर्दै त्यसलाई व्यवसायिक र आधुनिकरण गर्ने गाउँपालिको योजनाले युवा शक्ति पलायन हुने समस्यालाई पनि हल गर्ने घर्तीको भनाई छ ।

सुनछहरी गाउँपालिकाका गाम,स्यूरी, सेरम, जस्ता क्षेत्रमा प्रशस्त मात्रामा घाँसे मैदान रहेका छन् । ती क्षेत्रका किसानहरुले पुख्यौली पेशाको रुपमा भेडापालन गर्दै आएपनि सरकारले सहयोगको अभाावका कारण व्यवसाय प्रवद्र्धन र विस्तार गर्न सकेका थिएनन ।

भेडापालन पेशा लोपोन्मुख हुने संकटमा भएको वेला गाउँपालिको यो सहयोगले उत्साहित बनाएको किसानहरूको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !