रोल्पा अस्पतालका लागि अर्थ मन्त्रालयद्वारा ३ करोड रुपैयाँ बिनियोजन
काठमाडौं । अर्थ मन्त्रालयले जिल्ला अस्पताल रोल्पाका लागि ३ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
कोभिड १९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आइसीयू र आइसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ सुनिश्चित गरेको हो ।
मन्त्रालयले तेस्रो चरणमा रोल्पा अस्पतालका बजेट विनियोजन गरेको छ ।
कोरोना महामारी तिब्र भएपनि रोल्पामा अहिलेसम्म आइसियू र भेन्टिलेटर छैन । रोल्पामा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टाको तथ्याङ् अनुसार ७३७ जना कोरोना संक्रमित रहेका छन् ।
अर्थ मन्त्रालयले यसअघि दुई चरणमा विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको थियो । जिल्लाबाट माग भए अनुसार बजेट बिनियोजनमा ढिलो छिटो भएको बताएको छ ।
अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले भने,“सिधै अर्थ मन्त्रालयमा मागेर हुने होईन प्रक्रियागत अनुसार हुन्छ । जसले छिटो माग्यो ति अस्पतालाई छिटो रकम भएको हो र जसले ढिलो गर् यो उनीहरुका लागि ढिलो भएको हो ।”
कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले आज ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । त्यसै अन्तर्गत रोल्पापनि परेको हो ।