६ आश्विन २०८१, आइतबार

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तीन केन्द्र

प्रकाशित मिति :  28 May, 2021 3:22 pm


फाइल फोटो

देउखुरी । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्त्मि चरणमा पुगेको छ । यही जेठ १७ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुने छ ।

निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको छ । जस अन्तर्गत एउटा केन्द्र(क)मा प्रदेशसभा सदस्य, केन्द्र(ख)मा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, र केन्द्र(ग)मा कोरोना संङ्क्रमितहरुले छुट्टा छुट्टै मतादान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

साथै प्रत्येक मतदान केन्द्रमा दुई÷दुईजना स्वास्थ्यकर्मीहरुलाई खटाउने व्यवस्था गरिएको कुँवरको भनाइ छ । एउटा मतदान केन्द्रमा ११ जना कर्मचारी खटिनेछन् ।

मतदानका लागि ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएकाले हरेक जिल्लामा रहेको स्वास्थ्य कार्यालयले पिसिआर परीक्षण गर्ने जिम्मा पाएका थिए ।

सोही अनुसार आज दाङका जनप्रतिनिधि, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचनमा खटिने सबैजनाको कोरोना परीक्षण शुरु गरिएको जिल्ला जनस्वास्थ कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार पिसिआर नमुना संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको र त्यसको नतिजा आउन एक÷दुई दिन लाग्ने बताए ।

उमेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको र चुनाव चिन्हसमेत प्रदान गरिसकेकोले अब मतदान केन्द्रमा आवश्यक संरचनाहरु निर्माण गर्ने र आवश्यक कर्मचारीहरुको छनोट हुने उनको भनाइ छ ।

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा देउखुरी जिल्ला अदालतका न्यायाधीस रितेन्द्र थापा र सहायक मतदान अधिकृतमा निर्वाचन कार्यालयका निमित्त प्रमुख नीमराज भट्टराईलाई तोकिएको छ ।

उपनिर्वाचनमा जनता समाजवादी पार्टीले कारवाही गरेका प्रदेशका मन्त्री सन्तोषकुमार पाण्डे, कल्पना पान्डे, विजयबहादुर यादव, र सुमन शर्मा रायमाझीले मतदान दिन पाउने छैनन् ।

८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जसपाले कारबाही गरेका चारजना, माओवादीले कारबही गरेका दुइजना र एमालेबाट राजीनामा गरेका दुईजना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको छ ।

यही जेठ १७ गते हुने निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम रहेको    छ । सर्वोच्चले जेठ ३ गते उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेसका ६४, नेकपा माओवादी९केन्द्र० ३९,जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् ।

प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय १७ गरी जम्मा दुई सय ९६ जना मतदाता रहेका छन् ।

राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो । यसपाली नेकपा एमालेबाट तिनै चन्द्रबहादुर खड्का र गठबन्धनबाट दृगनारायण पाण्डेलाई उम्मेदवार बनाइएको छ ।

गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको (उपेन्द्र समूह) को समर्थन छ । विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशसभा सचिवालयले निर्वाचन आयोगलमा पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !