६ आश्विन २०८१, आइतबार
गणतन्त्र दिवस

गणतन्त्रमा पनि जनताको आधारभूत आर्थिक सामाजिक जीवनमा परिवर्तन हुन सकेन : उपराष्ट्रपति पुन

प्रकाशित मिति :  29 May, 2021 7:31 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गणतन्त्रमा पनि विकासको स्वभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउन नसकिएको बताएका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिँदै उपराष्ट्रपति पुनले अझै एकात्मक, सामन्तवादी, पुराना सोंच, शैलीहरू विद्यमान रहेको उल्लेख गरेका   छन् । उनले आधारतभूत परिवर्तन नहुँदा जनतामा निराशा बढ्न थालेको सहजै महुसुस गर्न सकिने बताएका छन् ।

आफ्नो शुभकामनामा उपराष्ट्रपति पुनले भनेका छन्,“ महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायका हक अधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ । तर, विकासको स्वभाविक प्रक्रियाले हुने परिवर्तन भन्दा आधारभूत नेपाली जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौं । एकात्मक, सामन्तवादी, पुराना सोंच, शैलीहरू विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ ।”

उपराष्ट्रपनि पुनले जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने स्मरण गराएका छन् ।

उनले आफ्नो शन्देशमा भनेका छन्,“जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहन्छ । दलीय स्वार्थ, व्यक्तिगत स्वार्थ, एकात्मक सामन्तवादी अहंकारी सोंच शैलीमा आमूल परिवर्तन ल्याएर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ जनताको जीवन र राष्ट्रको समृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने हो भने जनताको जीवन परितर्वन, देशको विकास र समृद्धिमा ढिला हुँदैन ।”

गणतन्त्रलाई परष्कृत गर्न संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले पछिल्ला ६ महिनाको बीचमा प्रतिनिधिसभा दुईपटक विघटन भएकोमा असन्तुष्टि जनाएका छन् ।

उनले आगामी दिन राजनीतिक रुपमा जटिल बन्ने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“नयाँ संविधान बमोजिम २०७४ को निर्वाचनमा राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि जनमत अभिव्यक्त भएको थियो । तर पछिल्ला ६ महिनाको बीचमा प्रतिनिधिसभा दुईपटक विघटन भएको छ । सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)ले मुलुक आक्रान्त भइरहेको दुःखद अवस्थामा फेरि विघटन भएको छ । यसमा राजनीतिक दलहरूमा मतएकता नहुँदा आगामी दिन राजनीतिक रूपमा केहीं जटिल बन्ने  देखिन्छ ।”

पछिल्लोपटक उत्पन्न राजनीतिक समस्याको सहि समाधान हुनेमा आफू आशावादी रहेको उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रति पुनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्याहरू छिट्टै समाधान हुने विश्वास समेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !