साहले कोरोना प्रभावितलाई एक वर्षको पारिश्रमिक बराबरको सहयोग उपलब्ध गराउने
प्रकाशित मिति : 29 May, 2021 8:29 am
रौतहट । रौतहट गौरको नापी शाखामा कार्यरत विजय साहले कोरोना प्रभावित तथा कोरोना रोकथाम र नियन्त्रणका लागि खटिएहरूलाई एक वर्षको पारिश्रमिक बराबर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
गौर नगरपालिका वडा नं.६ घर भएका साहले आफ्नो एक वर्षको पारिश्रमिक बापतको रकमले गौर नगरपालिकाका विभिन्न निकायमा स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेका हुन् ।
स्थानीयवासी भएकाले पनि गौर नगरका जनताको पीडामा थोरै भए पनि राहत पुराउने उद्देश्यले सहयोगको निर्णय गरेको उनले बताए ।
कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाईनमा खटिने गौर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक अगुवा समाजसेवी, कोरोना संक्रमित र तिनका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध गराउने साहले जानकारी दिए ।