६ आश्विन २०८१, आइतबार

सत्ताको केन्द्रमा पुर्‍याउने र खसाल्ने परिभाषा र अभ्यासलाई गणतन्त्रले आत्मसात गर्दैन : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  29 May, 2021 9:46 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई सत्ताको केन्द्रमा पुर्‍याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर जंगी अड्डामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,“ जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्‍याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न सक्दैन। हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नुपर्ने छ। जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने प्रत्याभूतिको बाटोमा हामी छौँ ।”

राजनीतिक झगडा/लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन प्रधामन्त्री ओलीको आग्रह छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि उनीहरुलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अर्थाउने विसङ्गत परिभाषा हानीकारक भएको उल्लेख गरेका छन् । उनले भनेका छन्,“यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचन मार्फत अभ्यास गर्दछन् ।”

आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार भएको बताए । उनले यस्ता दुश्प्रचारको भ्रममा नपर्न भनेका छन् ।

सरकारका हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको भन्दै प्रधानमन्त्री ओलीले जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो भनेका   छन् ।

मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पगेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्,“सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।”

लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन सक्दैन, गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको स्मरण समेत गराएका छन् ।

संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दीगो हुन नसक्ने भन्दै प्रधानमन्त्रघ ओलीले जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !