७ माघ २०८१, सोमबार

विवेकशीलका पूर्व अध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च बेहोर्ने व्यवसायी दुर्गा प्रसाईंको घोषणा

प्रकाशित मिति :  29 May, 2021 11:06 am


काठमाडौं । विवेकशी साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यवसायी दुर्गा प्रसाईंले बेहोर्ने घोषणा गरेका छन् ।

थापाको गम्भीर अवस्थामा ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । खर्चको अभाव हुने भन्दै सहयोग संकलन सुरु भएपछि बि एण्ड सि मेडिकल कलेजका सञ्चालक प्रसाईंले सबै खर्च बेहोर्ने घोषणा गरेका हुन् ।

प्रसाईले जारी गरेको विज्ञप्तिमा भनेका छन्,“ विभिन्न सञ्चार माध्याम मार्फत विवेकशील साझा पार्टीका अध्यक्ष श्री रविन्द्र मिश्रले आर्थिक सहयोगका लागि अव्हान गर्नुभएको जानकारी हुन आएको र वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले उपचारारको क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको (उज्जवल थापा) सम्पूर्ण खर्च बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

प्रसाईंले आफ्नो विण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सामाजिक उत्तर दायित्व अन्तर्गत सहयोग गर्न लागेको जानकारी दिए । प्रसाईले लुम्बिनी सञ्चारसँग भने,“ यस्तो बेलामा सहयोग संकलन गरेर उपचार गाह्रो छ । परेको बेला सहयोग गर्ने हो त्यसैले हामीले जति खर्च लाग्छ सबै बेहोर्ने निर्णय गरेका हौं ।”

थापाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उपचार खर्चको अभाव भएको भन्दै सहयोगका लागि आग्रह भएपछि प्रसाईले खर्च व्यवहोर्ने निर्णय गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको थियो । अवस्था जटिल बनेपछि अहिले ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !