६ आश्विन २०८१, आइतबार

कोभिड नियन्त्रण र रोकथाममा सरकारको सम्पूर्ण संयन्त्र परिचालन छ : नेता रायमाझी

प्रकाशित मिति :  29 May, 2021 1:32 pm


अर्घाखाँची । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कोभिड नियन्त्रण र रोकथामको निम्ति सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उनले विश्वमानव समुदायको निम्ति चुनौतीको रुपमा रहेको कोरोना भाईरसले पछिल्लो समय नेपाललाई समेत नराम्रो सँग प्रभावित पारेको भन्दै यसको नियन्त्रण र रोकथामको निम्ति कुनै कसर बाँकी नराख्ने बताए ।

केही समय पहिले देशका प्रमुख अस्पतालमा बेड,आई.सि.यु.भेन्टिलेटर र अक्सिजनको समस्या देखिएको भएपनि अहिले सरकारले सबै तयारी पूरा गरेको उनको भनाई थियो ।

रायमाझीले कोरोना भाईरस नियन्त्रण र रोकथामको निम्ति खोप लगाउनु अनिवार्य भएको भन्दै ,केही महिना भित्रमा सबै नेपाली जनतालाई खोप लगाउने गरि विभिन्न मुलुकहरू सँगको वार्ता र संवादलाई तिब्र पारिएको बताए ।

उनले कोभिड संक्रमणबाट जिल्लाबासी लाई बचाउनु आफ्नो दायित्व भएको भन्दै कोभिडका कारण आफू थलापरी काठमाडौको अस्पताल भर्र्ना भएको समयमा पनि जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री पठाएको बताए ।

रायमाझीले जिल्ला अस्पतालमा कुनै कुराको कमिहुन नदिनेगरी काम भैरहेको भन्दै, अक्सिजन प्लान्टको काम अगाडि बढ्नुका साथै अब आफ्नो ध्यान बिशेषज्ञ सेवा तर्फ केन्द्रीत भएको उल्लेख गरे ।

एक फरक प्रसंगमा नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहेका रायमाझीले सरकारले तोकेको समयमै चुनाव सम्पन्न हुने बताए । उनले चुनाव अघि नै जनतालाई कोरोना बिरुद्धको खोप लगाई सक्ने भन्दै चुनाव हुनेकुरामा ढुम्क हुन जिल्ला बासीलाइ आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोरोना भाईरस नियन्त्रणको निम्ति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

रायमाझीले १७ वटा अक्सिजन सिलिन्डर लगायत जिल्लामा अत्यावश्यक विभिन्न किसिमका स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !