६ आश्विन २०८१, आइतबार

वर्तमान सरकारको सहयोगी नबन्न राज्यका सबै अंग र निकायलाई विपक्षी गठवन्धनको आग्रह

प्रकाशित मिति :  30 May, 2021 12:52 pm


फाइल फोटो

काठमाडौं । सरकारले अध्यादेशबाट हिजो ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भइरहेको संविधान उल्लंघन संघीय संसदमापेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुन: प्रकट भएको ठहर गरेको हो ।

बैठकपछि निकालिएको संयुक्त विज्ञप्तिमा भनिएको छ,“देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठीन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेका छन् । सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढ्दो छ । राज्ययन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदैछ ।”

गठवन्धनले बहुमतसहित विकल्प प्रधानमन्त्रीका रुपमा आफूहरुले विधिवत दाबी प्रस्तुत गरिसकेको भन्दै देश र जनतालाई दीर्घकालिन असर पर्ने किसिमका कुनैपनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ,“ सरकारका संविधान विपरीतका र लोकतान्त्रिक कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरूलाई पनि आग्रह गर्दछौं ।”

गठबन्धनको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए । नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता थिए ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण बहादुर महरा र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सहभागी थिए । सरकारले अध्यादेशबाट बजेट ल्याएपछि उनीहरुले छलफल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !