१ मंसिर २०८१, शनिबार

विवादमा तानियो महाकाली अस्पताल,अक्सिजन प्लान्ट स्थापनामा डेढ करोड रुपैयाँको चलखेल

प्रकाशित मिति :  31 May, 2021 4:52 pm


काठमाडौं । अक्सिजन प्लान्ट स्थापनाको विषयलाई लिएर महाकाली अस्पतालमा विवादमा तानिएको छ ।

महामारीका बेला तत्काल अक्सिजन प्लान्ट स्थापना गर्नुपर्नेमा डेढ करोड रुपैयाँको चलखेल भएको भन्दै विरोध भएको छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालले जेठ ५ गते टेण्डर आव्हान गरेको थियो । टेण्डरमा टेक्निकल एसोसियट सर्भिसेस प्रा.लि.,ग्वालेक ग्रुपको स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिज र बिआरटी इन्टरनेशनल प्रा.लिले सहभागिता जनाएका थिए ।

प्रस्तावमा टेक्निकल एसोसियटले ३ करोड ६३ लाख , बिआरटी इन्टरनेशनलले ३ करोड २६ लाख ५७ हजार रुपैयाँ र स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले १ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९५ पैसाको प्रस्ताव गरेको थियो ।

तर अस्पतालले झण्डै डेढ करोड रुपैयाँ बढी प्रस्ताव गरेको बिआरटी इनटरनेशनललाई ठेक्का दिन खोजेपछि चर्को विरोध भएको छ । यसले अस्पताल मात्रै विवादमा तानिएको छैन तत्काल अक्सिजन प्लान्ट स्थापना गरेर कोरोना संक्रमितको ज्यान बचाउने दायित्वबाट समेत अस्पताल प्रशासन चुक्ने खतरा देखिएको छ ।

स्थानीयहरूले अस्पतालको व्यवस्थापन पक्षको मिलेमतोमा बिआरलाई टेण्डर दिन खोजिएको आरोप लागेको छ । विवाद भएपछि ५ दिन वितिसक्दापनि अस्पतालले कसलाई बोलपत्र दिएको हो भनेर सार्वजनिक गर्न सकेको छैन ।

अस्पताल स्रोतका अनुसार बाहिर विवाद हुन थालेपछि व्यवस्थापन पक्ष ठेण्डर नै खारेज गर्ने पक्षमा लागेको छ । अस्पताल स्रोतले भन्यो,“छिटो र सस्तोमा आउने प्लान्टमा हाम्रो सरहरुको ध्यान गएन, मानिसको जीवन रक्षा भन्दापनि कसरी फाइदा हुन्छ भनेर हेर्न खोजेजस्तो लाग्यो ।”

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा.हरि श्रेष्ठले भने मापदण्ड पुरा गरेको कम्पनीलाई टेण्डर दिने निर्णय गरेको तर्क गरे । उनले बिआरटी इन्टरनेशनललाई ठेक्का दिन खोजिएको स्वीकार गरे । तर अहिले आएर बिआरले ६ महिनाको समय माग गरेपछि अफ्ठेरो परेको तर्क गरे ।

उनले भने,“हामीलाई तत्कालै चाहिएको थियो तर छ महिनाको समय माग गरेपछि अफ्ठेरोमा परेका छौं । त्यैपनि एक डेढ महिनाको प्रतिबता जनाउन पत्र लेख्छौं तर ६ महिनाको समय माग गरे अर्को टेण्डर गर्नुपर्ने अवस्था आउछ होला ।”

टेक्निकल एसोसियट्स सर्भिसले ४ देखि ५ महिनाको समय मागेर प्रस्ताव पेश गरेको थियो । सर्भिसका मार्केटिङ म्यानेजर सुशील कुमार महतोले समयका हिसाबले आफूहरुले पनि ४ देखि ५ महिनाको समय मागेको जानकारी दिए । उनले भने,“अहिले जहाजबाट आउने सम्भावना नभएका कारणले थप समय मागिएको हो ।”

स्नेहा सोप एण्ड केमिकलले भने अक्सिजन प्लान्ट ल्याउन ४५ दिनको समय माग गरेको थियो । स्नेहा साेप एण्ड केमिकल सुदूरपश्चिमकै प्रतिष्ठित व्यापारिक समूह ग्वालेक ग्रुप मातहतकाे कम्पनी हो ।

ग्रुपका अध्यक्ष पीताम्बर जोशीले भने,“मेरो आफ्नै जिल्लाको अस्पताल भएकाले सहयोग गर्न खोजेको हो । मलाई नाफा भन्दापनि अस्पताललाई सहयोग होस् भन्ने उद्देश्यले यो रकममा प्रस्ताव गरेको थिएँ, सकेसम्म छिटो ल्याउनुपर्‍यो भनेर जोडबल गरेको हो तर नेपालका कर्मचारीको भनाई के हो बुझ्नै गाह्रो ।”

उनले आफूले भनेको समयमा अक्सिजन प्लान्ट ल्याएर आफ्नो क्षेत्रका मान्छेको जीवन बचाउन चाहेपनि अस्पताल प्रशासनको गलत मानसिकता देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस !