३ आश्विन २०८१, बिहिबार

कोरोनाका कारण अनौपचारिक ‘मिल्क होलिडे’, बोर्डद्वारा राहत प्याकेज सिफारिस

प्रकाशित मिति :  31 May, 2021 9:33 pm


काठमाडौ । कोरोना महामारीका कारण ‘मिल्क होलिडे’ को जोखिम बढेको छ । दुग्ध आपूर्तिमा ५० प्रतिशतसम्म कमी आएकाले अनौपचारिक दूध होलिडेको अवस्था आएको हो ।

दुग्ध क्षेत्रको नियामक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको खपत ५० प्रतिशतसम्म घटेकाले किसानदेखि उद्योगीसम्म मारमा परेको जनाएको छ ।

विश्व दुग्ध दिवस २०२१ को पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोर्डले कुल ग्राहस्र्थ उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्रको समस्या औंल्याएको हो ।

पत्रकारसम्मेलनमा उपस्थित सरोकारवालाले कोरोना महामारीका कारण अनौपचारिक रुपमा मिल्क होलिडे भइसकेको स्वीकारेका छन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले किसानले अप्रत्यक्ष रुपमा मिल्क होलिडेको अवस्था भोग्नु परेको बताए ।

“अहिले पनि किसानको दूध बिक्रि हुन सकेको छैन, किसान सडकमा उत्रिनुपर्ने अवस्था छ” उनले भने ।

दुध उत्पादन बढी र खपत कम भएपछि उद्योगले किसानबाट हप्तामा तोएिको दिनमा दुध खरिद नगर्ने अवस्था मिल्क होलिडे अर्थात् दूध विदाको अवस्था हो । यसो हुँदा विशेष गरी किसानहरु मारमा पर्ने गर्दछन् ।

यसपाली भने किसान मात्र नभइ उद्योगीसमेत मारमा परेका हुन् । दूधको खपत कम हुँदा संकलित दूधलाई दूध पाउडर र बटर बनाएर राखिएको तर स्टक बढ्दै गएकाले थप दूध संकलन गर्न नसकिएको उद्योगीहरुले बताएका छन् ।

पहिलो चरणको कोरोना महामारीदेखि नै दूध र बटरको स्टक रहेपछि दोस्रो चरणमा थप दूध संकलन गर्न नसकिएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

दूध खपतको समस्याकाबीच पछिल्ला दिनमा निषेधाज्ञा कडाइको नाममा दूध बोक्ने गाडि सुरक्षाकर्मीले रोक्ने गरेकाले थप समस्या आइपरेको दाहालको गुनासो छ ।

हालै सरकारले दूध तथा दुग्ध पदार्थ बोक्ने गाडिमा प्रयोग हुने लोको सार्वजनिक गरे पनि कार्यान्वयन हुन नसक्दा तथा सुरक्षाकर्मीलाई यस विषय स्पष्टता नहुँदा आपूर्ति व्यवस्थामा समस्था देखिएको नेपाल डेरी एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाको भनाइ छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका निमित्त सचिव (पशुपंक्षीतर्फ) डा. बिमल कुमार निर्मलले दूग्ध क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय प्रयासरत रहेको बताए । दूधको लोगो सम्बन्धि कार्यविधी बन्दै गरेकाले लोको वितरण छिटै हुने तथा दूध ढुवानी समस्या हटाउन गृह मन्त्रालयलाई पत्राचार गरिसकिएको उनले बताए ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले कोरोना महामारीले दूग्ध क्षेत्रमा पारेको समस्या र समग्र दूग्ध क्षेत्रको अवस्था बारे अध्ययन गरिसकिएको र समस्या समाधानका लागि पहल अगाडि बढिसकेको बताए ।

यादवले कोरोनाले दुग्ध क्षेत्रमा परेको असरको अध्ययन गरि सरकारलाई किसान र उद्योगीलाई प्रत्यक्ष राहत प्याकेजको सिफारिस गरेको बताए ।

२०७७ चैत्र देखि बन्दाबन्दी अवधिभरीको प्रति लि. १० रुपैया उपलब्ध गराउन, कृषि कर्जा रकम ५ करोडबाट बढाई १० करोड पु¥याउने, थप १ वर्ष म्याद अवधि बढाई ५ प्रतिशत व्याजलाई २ प्रतिशत कायम गर्नुपर्ने, नेपालमा उत्पादन हुने दूध तथा दुग्ध पदार्थको आयातमा प्रतिवन्ध लगाउनुपर्ने, स्थानीय तहले उपलब्ध गराउने राहत प्याकेजमा प्रति राहत प्याकेज २ किलो धुलो दूध र १ केजी बटर समावेस गर्ने लगायतका विषयमा सरकारलाई अनुरोध गरिएको उनले बताए ।

धुलो दुध उत्पादन गर्दा लाग्ने अतिरिक्त लागत मूल्यको ५० प्रतिशत बराबर ६ रुपैयाँ प्रति लिटर धुलो दूध उत्पादनमा अनुदान, दुग्ध पदार्थका मेसिनमा प्रयोग हुने स्पेयर्र पार्टमा बढीमा १० प्रतिशत भन्सार महसुल लाग्ने, बर्तमान बिषम परिस्थितिमा दुग्ध ब्यवसायमा कार्यरत कर्मचारीलाई१ लाख बरावरको बिमा गर्नुपर्ने लगायतको सिफारिस बोर्डले गरेको छ ।

दूग्ध विकास संस्थान (डिडिसी) समेतले समयमा किसानलाई भुक्तानी गर्न नसकेको गुनासो देशभरबाट आउन थालेको छ । बोर्ड र सरोकारवाला निकायको दूग्ध क्षेत्रको समस्याका बारेमा एक मत छन् । डीडीसीका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले निषेधाज्ञाका कारण खपत घटेकाले संकलन गर्न समस्या रहेको र समाधान गर्न लागि परेको उनको भनाइ छ ।

नेपालको कुल ग्राहस्र्थ उत्पादनमा ९ प्रतिशतको योगदान छ । गत वर्ष नेपालभर दूधको उत्पादन ५.७६ प्रतिशले बढेर २३ मेट्रिक टन पुगेको छ ।

नेपालमा प्रतिव्यक्ति प्रति नेपाली ७९ लिटर उपलब्धता छ । प्रति व्यक्ति प्रतिवर्ष ९१ लिटर उपभोग हुनुपर्ने एफएओको मापदण्ड रहेकाले अझै ११ लिटर दुध अपुग छ ।

कुुल उत्पादनको करिव १७ प्रतिशत औपचारिक क्षेत्रमा खपत हुँदै आइरहेको छ भने ३३ प्रतिशत मिठाई पसल, चिया पसल, लज÷रेष्टुरेन्टमा खपत हुन्छ भने करिव ५० दूध किसानले नै खपत गर्छन् ।

दूधलाई सम्पूर्ण खाद्य पदार्थका रुपमा लिइन्छ । दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ, भिटामिनदेखि क्यालसियम, फस्फोरस, म्यागनेसियम, क्लोरिन, पोटासियम, सोडियम आदि खनिज पदार्थ पाइन्छन् ।

दूधमा हुने ३.०५ चिल्लो, ४.७५ ल्याक्टोज र ३.५५ प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ । सरीरको रोग प्रतिरोधी क्षमता कायम राख्न र बढाउन दूध तथा दुग्ध पदार्थको नियमित सेवन महत्वपूर्ण मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !