६ आश्विन २०८१, आइतबार

नेकपा एमालेले पार्टी एकता कायमका लागि प्रयास जारी राख्ने

प्रकाशित मिति :  1 June, 2021 4:47 pm


काठमाडौं । नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निर्णय गरेको हो ।

एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको र धेरैभन्दा धेरै साथी पार्टीमा रहुन भनेर प्रयास जारी नै रहेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उनले भने,“धेरैभन्दा धेरै साथीहरु पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ, आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरु लागिरहनुभएको छ तर ती साथीहरु पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ ।”

उनले पार्टी विवाद समाधान गर्नका लागि गठित कार्यदल अहिले अस्तित्वमा नभएको स्पष्ट पार्दै कार्यदलमा रहेका केही कारबाहीमा परेकाले आवश्यकताका आधारमा कार्यदल पुनःगठन हुन सक्ने बताए ।

बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दवाव र गतिविधि गम्भीर छलफल भएको ज्ञवालीले जानकारी दिए । उनले भने,“आफूले भनेकै न्यायधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले दवाव दिनु स्वतन्त्र न्यायपालिकाको मर्मसंँग मेल खाँदैन,त्यस्तो कुरा गर्नुहुँदैन र हुनुहुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ ।”



प्रतिक्रिया दिनुहोस !