रोल्पामा कोरोनाबाट दिनहुँ मृत्यु
उमा केसी-
रोल्पा । रोल्पामा कोरोनावाट दिनहुँ मृत्यु हुन थालेको छ । लामो समय सम्म स्थीर रहेको मृत्यु दर केहीदिन यता दिनहुँ थपिदै गएको हो । संक्रमितको संख्या घट्दै गएको देखिएपनि गत जेठ १५ गते यता दिनहुँ एक जनाका दरले ज्यान गुमाईरहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ जना मात्रै कारोना संक्रमित थपिएपनि थप १ जनाको मृत्यु भएको हो । रोल्पा नगरपालिका –३ का ४५ वर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लामा कोरानाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
कोरोनाको दोश्रो लहरका कारण वैशाख २७ गतेसम्म शून्य मृत्युदर रहेको रोल्पामा वैशाख २८ गते एकै दिन दुई जनाको मृत्यु भएको थियो ।
जेठ ७ गते सम्म जिल्लामा कोरोनाका कारण ११ जनाले ज्यान गुमाइसकेका थिए ।
झण्डै १ हप्ता सम्म मृत्यु हुनेको संख्या रोकिएकोमा जेष्ठ १४ गते एकै दिन २ जना थप भएका थिए । त्यस यता दिनहुँ एक जनाले ज्यान गुमाइरहेका छन् ।
रोल्पामा कोरनावाट हालसम्म ८०६ जना संक्रमित भएका छन् । संक्रमित मध्ये हाल सम्म ४९६ जना निको भइसकेका छन् । पछिल्लो पटक संक्रमित दर घट्न थालेको छ । संक्रमित मध्ये ६९९ जना होम आइसोलेशनमा रहेका छन् ।
रोल्पा अस्पतालको आइसोलेशनमा ३७ जना संक्रमित रहेका छन् । अन्य गाउँपालिकाका र नगरपालिकाका आइसोलेसनमा ७० जना संक्रमित रहेका छन् ।
जिल्लामा विभिन्न आइसोलेशनहरुमा रहेको वेड संख्या ७६ रहेको छ । कोभिड परिक्षण गर्ने अपस्तालको संख्या ४ रहेको स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ ।
जिल्लामा उपलव्ध अक्सिन सिलिन्डर संख्या ११८ र एम्वुलेन्स संख्या १८ रहेको बताइएको छ । रोल्पामा अहिले सम्म आईसियु र भेन्टीलेटर नभएको रोल्पा अस्पतालले जानकारी दिएको छ ।