६ आश्विन २०८१, आइतबार

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, ओली पक्षले भन्यो,‘अनधिकृत बैठकमा सहभागि नहुनू’

प्रकाशित मिति :  3 June, 2021 8:52 am


काठमाडौं । माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाउँदै सहभागि नहुन आग्रह गरेको छ ।

आज बिहानै पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको र उक्त बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्,“पार्टीको विधान अनुसार अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुन्नमा आएकोले त्यस्तो कार्यको निन्दा एवं भर्त्सना गर्दछु ।”

माधव नेपाल पक्षले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, झालनाथ खनालसहितका ११ जना नेतालाई निष्कासन गर्ने निर्णय गरिसकेको छ भने अन्य १२ जनालाई स्पष्टिकरण सोधेको थियो ।

पछिल्लो समय फेरि वार्ताका लागि सहमतिको प्रयास भइरहेको बताइएका बेला नेपाल पक्षले केन्द्रय कमिटी बैठक बोलाएको हो ।



प्रतिक्रिया दिनुहोस !