१ मंसिर २०८१, शनिबार

लाभकरले पुँजी बजारमा दोहोरो असर

प्रकाशित मिति :  3 June, 2021 3:00 pm


पहिलो लहरको कोरोना भाइरसको संक्रमणबाट थलिएका व्यापार व्यवसायहरू पाइला सार्न नपाउँदै दोस्रो लहरको कोरोना संक्रमणले पुनः नराम्रोसँग थिचेको छ । अब यस महामारीबाट व्यवसायहरु सामान्य अवस्था फर्किन वर्षौ लाग्ने छ ।

यस्तो अवस्थामा अन्य व्यवसायमा भएको जोखिम केही मात्रामा भएपनि कम गर्नको लागि निषेधाज्ञाको सदुपयोग गर्दै धेरै मानिस सेयर बजारमा भित्रिएका छन् ।

अहिले प्रविधिको उच्चतम प्रयोग गरी घरमै बसेर पनि अनलाइन माध्यामबाट देश तथा विदेशबाट कारोबार भइरहेको हुनाले पुँजीबजारमा कारोबार रकम पनि उत्साहजनकरुपमा वृद्धि भइरहेको छ ।

गत वर्ष यही समयमा ११ सय ५० को हाराहारीमा रहेको नेप्से परिसूचक अहिले २८ सय नाघेको छ । दैनिकजसो बजारमा नयाँ किर्तिमान कायम भएको छ । अहिले २ दिन यता पुनः बजारमा केही करेक्सन आएपनि आज बजार खुलेको समयदेखि नै बढेको छ ।

नेप्से इन्डेक्स घटबढ हुनु भनेको बजारको सुन्दर पक्ष भएको लगानीकर्ताहरूको भनाइ छ ।

पुँजीबजार जोखिमको हरपल जोखिमको क्षेत्र भए पनि ४ वर्षको वियरिस ट्रेन्ड पार गरेर बल्ल १ वर्ष हुन थाल्यो, बुलिस टे«न्डमा बजार आएको, त्यसैले बजारमा खासै डराउनुपर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

अहिले कोरोना माहामारीको अवस्थामा बजार प्रवेश कत्तिको उपयुक्त छ र बजेटले पुँजीबजारलाई सेमेट्न सक्यो कि सकेन साथै आगामी दिनमा बजारको अवस्था कस्तो हुनेछ भन्ने विषयमा लगानीकर्तासँग गरिएको कुराकानी :

बजेटका व्यवस्थाले पुँजी बजारमा प्रभाव नपरोस्


कोरोना भाइरसको माहामरी फैलिएको यस समयमा समग्रमा अर्थतन्त्रको धरासायी बनेको अवस्थामा आएको बजेट पनि वितरणमुखी छ । विभिन्न ठाउँमा छरिएको छ र मुख्यतया स्वास्थ्य क्षेत्रमा धेरै बजेट आएको छ, यो अनिवार्य रुपमा खर्च हुन्छ । विकास निर्माणमा जस्तो पैसा छुटाएर खर्च नहुने खालको पैसा होइन जसले गर्दा बजारमा तरलता बढ्छ ।

सरकारको ढुकुटीमा रहेको पैसा जनता समक्ष आउँछ, यसले गर्दा अर्थतन्त्र चलायमान हुन्छ । त्यसको असरले बैंक तथा वित्तीय संस्थामा तरलतामा संकुचन हुँदैन । जसले गर्दा ब्याजदर बढ्दैन, ब्याजदर स्थिर रहन सहयोग पुग्छ ।

अर्को कुरा रेमिट्यान्सलाई अलिकति बढावा दिएको छ । औपचारिक रुपमा रेमिट्यान्सबाट पैसा ल्याउदा १ प्रतिशत बढी ब्याज दिने कुरा आएको छ । जसले गर्दा ब्याजदरको केही आर्कषण गर्ने हुँदा रेमिट्यान्स पनि राम्रै वृद्धि हुनेछ जसले गर्दा बजारमा तरलता प्रभाव हनुेछ । समग्रमा भन्दा सरकारले ढुकुटीमा पैसा राखेको छैन, यथार्थ खर्च देखिएको छ ।

पुँजी बजारमा सामान्य भन्दा आवश्यक विकास र विस्तार गरिने छ भन्ने बाहेकका अन्य केही छैन । त्यो भित्र के के परेको छ अब धितोपत्र बोर्डले विभिन्न प्रस्तावहरु लगेर त्यही अनुसार धितोपत्र बोर्डको सरकारलाई काँधमा रहेका कुरा, पुँजीबजारको विकास विस्तारका कार्यका बारेमा सरोकारवालाहरुसँग छलफल गर्ला र त्यसले एउटा राम्रै निष्कर्ष निस्केला ।

अर्को कुरा दीर्घकालीन लगानीकर्ता र अल्पकालीन लगानीकर्ता भनेर विभाजन गरेको छ । त्यो अनिर्वाय पनि थियो किनभने पुँजीबजार भनेको दीर्घकालसम्म लगानी होस् भनेर इच्छा राखेर गरिनेको र राज्य क्षेत्र सरकारले निजी क्षेत्रले पुँजीबजारबाट पैसा उठाउने भनेको उद्योगधन्दा खोल्ने कुनै औद्योगिक क्षेत्रमा लगानी गर्ने भनेको धैर्य गरेर त्यो पुँजीलाई केही वर्षसम्म होल्ड गर्नुपर्छ ।

अल्पकालीन लगानी भनेको एकप्रकारको जुवा जस्तै हो आज सर्किट लागेको कम्पनी भोलि उल्टो सर्किट लाग्न सक्छ । एकदमै सचेत हुनुपर्छ, बजारको अवस्था कस्तो छ भन्नेमा ।

मौद्रिक नीतिको समीक्षापछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन लगानीको लागि प्रत्साहन गरेको छ । त्यही अनुसार अर्को कडीको रुपमा १ वर्ष माथिका लगानीकर्तालाई दीर्घकालीन लगानीकर्ता भनेर परिभाषित गरिएको छ ।

यसबाट कर्पोरेटहरुलाई त खासै असर गर्दैन तर व्यक्तिगत लगानीकर्तालाई भने केही आर्थिक नोक्सानी त हुन्छ नै, हामीले यसलाई के भनेर चित्त बुझाउनु पर्छ भने यस्तो कोरोनाको विषम परिस्थितमा राज्य परेको छ ।

राज्यलाई पनि ढुकुटीमा कहाँबाट पैसा जम्मा गर्ने भन्ने स्रोत खोजी गरेको अवस्थामा हामीले १०० रुपैयाँ कमाउँदा ५ रुपैयाँ त दिइराखेका छौं, त्यसमा आफूले कमाएको पैसाबाट थप साढे दुई रुपैयाँ दिनु भनेको कोरोनाको समयमा सहयोग गरेको भन्ने सोचौ अहिलेलाई । यसलाई त्यति धेरै ठूलो कुरा नमानौं, यसबाट पुँजी बजारमा ठूलो प्रभाव पर्न हुँदैन र पार्न पनि हुँदैन ।

सर्वसाधारणबाट पैसा उठाएर चलाएको फन्ड म्यूचुअल फण्डमा पनि कर छुट दिएको छ । म्युचल फन्डलाई प्रोत्साहन गर्दै पुँजीबजारमा धेरै जानाकारी नभएका सर्वसाधारण जनतालाई म्यूचुअल फन्डमा लगानी गर्नुहोस् यसले राम्रो प्रतिफल दिन्छ भन्ने सन्देश पनि हो यसलाई आत्मसाथ गर्नुपर्दछ ।

सरकारले पुँजीबजारलाई सकारात्मक तरिकाले लिएको छ

कोरोना महामारीको अवस्थामा सबै आर्थिक क्षेत्रहरु ठप्प भएको अवस्थामा सबैको आँखा पुँजी बजारमा रहेको यस्तो अवस्थामा पुँजीबजार चुनौती र जोखिम अत्यन्तै रहेको छ, यसबाट बच्न कम्पनीको सबल पक्षहरुलाई केलाएर हेरेर आफ्नो वार्षिक प्रतिफल कतिसम्म थेग्न सक्छु भन्ने कुरा विचार गर्नु अत्यन्त जरुरी छ ।

अहिले पनि बैंक तथा वित्तीय संस्थाका सेयरहरु ‘अन्डर भ्यालुड’को स्थितिमा छन् । जुन कम्पनी पनि माइनस भएका कम्पनीहरु पनि धेरै माथि पुगेका छन् उत्पादनमुलकदेखि लिएर हाइड्रोका धेरै छन् । हामीले कुनै कम्पनीलाई तोकेर भन्न मिल्दैन । कम्पनीले वृद्धि गरेको सेयर मूल्य पनि बढ्न सक्ने धेरै समयदेखि राम्रो प्रतिफल दिँदै आएका कम्पनी रोज्नु पर्दछ । यदि कम्पनीको सेय रमूल्य नबढेमा पनि उसले दिने प्रतिफलले आफूलाई बैंकको व्याज धान्न सक्ने कम्पनी लगानीकर्ताले छान्न सक्नुपर्छ । हल्लाको भरमा लगानी गर्नु हुँदैन ।

बजारमा सेयर कारोबार आकार बढ्दैमा बजार बढ्छ भन्ने हुँदैन । अहिलेको लगानीका सबै क्षेत्र बन्द भएको अवस्थमा १७ अर्ब माथिको कारोबार हुनु सामान्य नै हो । पहिले ब्रोकरलाई भनेर सेयर किनबेच गर्न भन्नु पथ्र्यो भने अहिले घरमै बसेर आफैले किनबेच गर्न मिल्छ जसले गर्दा कारोबार अवश्य बढ्ने नै भयो । अर्को पाटो चाँही अहिले देश बाहिरबाट पनि पुँजीबजारमा कारोबार गर्नेको संख्या व्यापक हुनाले पनि कारोबार रकममा वृद्धि भएको हो ।

नीति तथा कार्यक्रममा नै पुँजी बजारलाई फोकस गरेको देखिन्छ । पुँजीबजार र बिमा संस्थानको विकास भएको भन्ने देखिन्छ त्यसले पनि सरकारको हेर्न दृष्टिकोण सकरात्मक छ भन्ने देखिन्छ । बजेट भाषणमा पुँजीबजारको नाम लिइएको छ, जसकारण केही प्रभाव पर्ने देखिन्छ ।
सरकारले पुँजीबजारलाई पनि सकारात्मक तरिकाले लिएको छ भन्ने बुझ्नुपर्छ । झ्टट हेर्दा बजेटले पुँजीबजारकोलागि केही कार्यक्रम नल्याए पनि यसको भित्री गहिराईमा जाँदा केही न केही अंगिकार गरेको देखिन्छ ।

पुँजीबजारका लागि चाहिने सेक्टरको विकास गर्ने भनिएको छ, गरेको पनि छ । बजारमा पहिले १÷२ अर्बको कारोबार हुन्थ्यो अहिले १७ अर्बको कारोबार हुन्छ, भोलि ५० अर्बको कारोबार हुनेछ । ५० अर्बको कारोबारलाई थेग्न सक्ने गरि क्षेत्रहरुका विकास गर्नुपर्छ भन्ने हाम्रो माग हो उहाँहरुले सम्बोधन गर्दै जानुहुनेछ ।

एउटा कुरामा हामी र सरकारबीच विवाद रह्यो ।त्यो के कुरा भने हामीले अल्पकालीन र दीर्घकाली न रुपमा लगानी गर्नुपर्छ कर छुट्याइदेउ भनेका थियौं ।कर छुट्याउनु भयो तर भइरहेको ५ प्रतिशतलाई दीर्घकालीनमा राख्नुभयो भने अल्पकालीनलाई साढे ७ प्रतिशत गर्नुभयो यसमा हाम्रो असहमति छ । विभिन्न क्षेत्रमा हाम्रो फोरमको तर्फबाट संशोधनको लागि जानेछौं । य

समा हाम्रो माग चाँही अल्पकालिन ५ प्रतिशत ठिक छ दीर्घकालको लगानीका लािग १ वर्ष माथि बेच्नेलाई ४ प्रतिशत २ वर्ष माथि ३ प्रतिशत ५ वर्ष भन्दा माथिलाई २ प्रतिशत गर्दै वैज्ञानिक तवरले करको निर्धारण गरिनुपर्छ ।कोभिडको बीचमा पुँजीबजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताले बुझेर लगानी गरौं ।

कारोबारले डिमान्ड राखेको छ आजका दिनमा हाम्रो लगानी गर्ने ठाउँ छै । सबै हामी घरमै छौं । बैंकमा पैसा छ, हाम्रो हातमा युजरनेम र पासवर्ड छ । पहिला १० कित्ता बेच्न ब्रोकरलाई भन्नु पथ्र्यो भने अहिले आफैले कारोबार गर्न सकिन्छ ।

विश्वको इतिहासलाई हेर्दा पनि अनलाइन कारोबार हुँदाखेरी ५ औं गुणादेखि १० औं गुणासम्म बढी कारोबार भएको रेकर्ड छ । ४ वर्षदेखि डाउनट्रेन्डमा गएको बजार बल्ल माथि जान थालेको छ । त्यसैले अनलाइन सिस्टममा कारोबार हुने, अहिलेको अवस्थामा लागनीका अन्य क्षेत्र नहुँने,बैक तथा वित्तीय संस्थाबाट प्रसस्त मात्रामा सस्तो ऋण पाईने हुँदा अबको बजार अझै माथि जानेमा आशंका छैन ।

पुँजीगत लाभकर बढाइँदा अल्पकालीन लगानीकर्तालाई मर्का

आगामी आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई समेट्ने कुनै कुरा आएनन्, जे छन् पहिलेका कुरालाई मात्र निरन्तरता दिइयो । सरकाले बजेटमार्फत सेयर बजारका अल्पकालीन लगानीकर्तालाई पुँजीगत लाभकर बढाएर मर्कामा पारेको छ ।

कोरोना महामारीको समयमा सरकारले अन्य क्षेत्रका व्यवसायीलाई बजेटमा सुविधाहरु दिए पनि सेयर बजारलाई भने खासै राहत हुने योजना ल्याएको छैन ।

सेयर बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको विभाजनको लागि नै माग राखेका थियौ । तर, अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर राखे दीर्घकालीनलाई त्योभन्दा केही कम गर्छ भन्ने हाम्रो अनुमान थियो । तर, सरकारले त्यसको विपरीत निर्णय गर्यो ।’ त्यसबाट हामी असन्तुष्ट छौं यसको लागि हामीले सरोकारवाला निकायमा छलफल गर्नेछौं ।

पुँजीबजार एउटा जोखिमको क्षेत्र पनि हो त्यसैले लगानी गर्दा जहिले पनि सोच विचार गरेर लगानी गर्ने गरौं । नराम्रा कम्पनीको मूल्य उच्च छ सर्किट लागेको छ भने हामी किन्न हतारिन्छौं, यसो गर्नु भएन । आज बढेको इन्डेक्स हेरेर सर्किट सेयर किन्नु हुँदैन भोलि घट्दा पनि त्यही कम्पनीको सेयर धेरै घट्ने हुन्छ ।

१ वर्ष पहिला १० देखि १२ लाखले डिम्याट खोलेका थिए भने अहिले आएर ३० देखि ४० लाखले डिम्याट खाता खोलेका छन् । जसले गर्दा पुँजीबजारमा भित्रिनेको संख्या दिनदिनै बढ्दो छ । जबसम्म तरलता रहन्छ तब सम्म तब सम्म डराउन पर्ने अवस्था देखिदैन ।

अहिलेको अवस्थामा लगानीका सबै क्षेत्र बन्द छन् जसले गर्दा धेरैजना सेयरबजारमा सक्रिय भएको हुनाले कारोबार रकमसँगै इन्डेक्स पनि बढेको छ । पछिल्लो २ दिन बजारमा करेक्सन आएको छ यसलाई स्वभाविक रुपमा लिनुपर्दछ । बजार बढ्नु र घट्नु भनेको सेयरबजारको एउटा सुन्दर पक्ष पनि हो ।



प्रतिक्रिया दिनुहोस !