नेपालको तापक्रम वृद्धि विश्वमै धेरै : विश्व बैंक र एडीबी
काठमाडौं । नेपालका प्रमुख दुई बहुपक्षीय दातृ संस्थाहरू विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)ले जलवायु परिवर्तनको कारण नेपालको तापक्रम विश्वको औसतभन्दा उच्च दरले बढ्दै गएको बताएका छन् ।
दुवै संस्थाद्वारा संयुक्त रुपमा जारी ‘मौसम जोखिमसम्बन्धी नेपालको राष्ट्रिय प्रोफाइल’ मा नेपालमा तापक्रम विश्वव्यापी औसतभन्दा उच्च हुने प्रक्षेपण गरिएको छ ।
दस्तावेजअनुसार नेपालमा जलवायु परिवर्तनका कारण औसत वर्षाको प्रवृत्ति परिवर्तन भएको छ भने खडेरीको प्रकोप बढ्दै गएको छ । नेपालमा कम वर्षा हुनु, समयमा वर्षा नहुनु, अल्प र खण्ड वृष्टि तथा नदी/खोलाहरूको सतह र बहाव घट्दै जाँदा खडेरी र मरूभूमीकरण बढेको संयुक्त दस्तावेजमा उल्लेख छ ।
सन् २०८० को दशकसम्म उच्च परिदृश्यमा १.२ डिग्रीदेखि ४.२ डिग्री सेल्सियससम्मले तापक्रम बढ्ने दस्तावेजमा उल्लेख छ । संयुक्त दस्तावेजअनुसार सन् १९८५ देखि २००५ को अवधिमा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा तापमान बढ्ने क्रम उच्च रह्यो, जुन सन् २०३० देखि ९० को बीचमा अझ तीव्र दरले बढ्ने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनअनुसार राजनीतिक, भौगोलिक र सामाजिक कारकको संयोजनको कारण जलवायु परिवर्तन सर्वाधिक प्रभाव रहने देशहरूमध्ये नेपाललाई कमजोरको स्थानमा परेको छ । सन् २०१९ को एनडी-गेन सूचकांकमा विश्वका १८१ देशहरूमध्ये नेपाल १२८ औं स्थानमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
एनडी-गेन सूचकांकले विश्वका मुलुकहरूको जलवायु परिवर्तन र अन्य विश्वोयापी चुनौतीहरूमा सुधारका लागि तत्परताका आधारमा स्कोर तय गर्छ । स्कोर कम हुनेहरू जलवायु परिवर्तनका जोखिमसँग जुझ्नका लागि सर्वाधिक कमजोर देश मानिन्छन् ।
प्रतिवेदनले जलवायु परिवर्तनका असरका नेपालले सन् २०५० सम्म आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २.२ प्रतिशत क्षति वार्षिक रुपमा भोग्नु पर्ने जोखिम औंल्याएको छ ।
जलवायु परिवर्तनले यहाँको ऊर्जा, कृषि, जलस्रोत, वन र जैविक विविधता, स्वास्थ्यलगायतका क्षेत्रमा सर्वाधिक असर पार्दै गएको भन्दै भन्दै प्रतिवेदनमा जलवायु परिवर्तनले मानव स्वास्थ्य, जीविकोपार्जन र पारिस्थितिक प्रणालीमा दबाब बढाउने जोखिम औंल्याइएको छ ।
“जलवायु परिवर्तनले नेपालको वातावरणमा अहिले नै उल्लेखनीय असर पारिरहेको छ, विभिन्न प्रजातिहरू उच्च क्षेत्रमा सर्न थालेका छन्, हिमनदीहरू पग्लिरहेका छन्, र वर्षाको प्रवृत्तिमा चरम परिवर्तन भइरहेको छ, ” संयुक्त दस्तावेजमा भनिएको छ ।
दस्तावेजले खडेरी, तातो हावा (लु), बाढी, हिमनदीको पग्लेर अकस्मात हुने बहाव तथा हिमतालबाट उत्पन्न हुने सबै खालका प्राकृतिक जोखिमले सम्भावित आपतकालीन जोखिमको स्तर बढाउने र मानव जीवन जोखिममा पार्ने खतरा औंल्याएको छ ।