७ पुस २०८१, आइतबार

दक्षिण एसियाका डेढ अर्ब मानिसले पानीको हाहाकार झेल्ने

प्रकाशित मिति :  4 June, 2021 7:35 am


काठमाडौं। हिमनदी पग्लने र हिमालमा हिउँको अभाव हुने क्रम बढेसँगै दक्षिण एसियाका डेढ अर्बदेखि एक अर्ब ७० करोड मानिस पानीको हाहाकारको सिकार हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको ‘ग्लेसियर अफ हिमालयाजः क्लाइमेट चेन्ज ब्ल्याक कार्बन एन्ड रिजनल रिजिलेन्स’ शीर्षक प्रतिवेदनले हिमनदीहरू पग्लने र मौसमी हिउँको क्षतिको कारणले ती हिमालमुनि बसोबास गर्ने मानिसहरूको जीवन जोखिम मात्र नपारी दक्षिण एसियाली क्षेत्रको जलस्रोतको स्थायित्वलाई समेत ठूलो जोखिम उत्पन्न गरेको उल्लेख छ ।

हिमनदी पग्लने क्रम रोक्नका लागि गर्नुपर्ने कार्य द्रुतगतिमा नगरिए यसले झन खराब असर ल्याउने प्रतिवेदनले औंल्याएको छ ।

हिन्दुकुसदेखि काराकोरामको २४०० किलोमिटरमा फैलिएको हिमाली क्षेत्र ६ देशमा ‌फैलिएको छ । कुल ६० हजार वर्ग किलोमिटर क्षेत्रमा हिमवत क्षेत्रले धेरै पानी भण्डारण गरी राखेको छ । यो क्षेत्र आर्कटिक र अन्टार्कटिक पछिको धेरै पानी भण्डार भएको क्षेत्र हो ।

यो हिमवत क्षेत्रमा ७५ करोड मानिस निर्भर छन् । यी हिमनदीहरू सिन्धु , गंगा र ब्रहमपुत्र नदीहरूका लागि ताजा पानीको स्रोत भएको उल्लेख गर्दै प्रतिवेदन पानीको बहावको मात्रा र समय परिवर्तन गर्दा महत्त्वपूर्ण आर्थिक तथा सामाजिक असर पर्ने जोखिम औंल्याइएको छ ।
कारखाना, भान्साघर र सवारी साधनहरूबाट निस्कने कालो कार्बन भण्डार जलवायु परिवर्तनमा कारक बन्दै हिमाली क्षेत्रका हिमनदी द्रुतगतिमा पग्लिन थालेको बैंकको अध्ययनले देखाएको हो ।

कार्बन उत्सर्जनमा जति बढी आक्रामक रूपले रोक रोक्नाले हिमनदी पग्लिने गति सुस्त हुने र जलस्रोतको सुरक्षामा हुने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कार्बन उत्सर्जनमा कमी ल्याउन अहिलेको नीति अनुसार इन्धन सक्षमताको स्तरीकरण, डिजल वाहनलाई हटाउँदै जाने र विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नु रहेको भन्दै प्रतिवेदनमा यो प्रशंसनीय भए पनि यसले सञ्चित कार्बन २३ प्रतिशतले घटाउन भएकाले पर्याप्त नभएको र यसले हिमनदी पग्लिन रोक्न नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, आर्थिक तथा प्राविधिकरूपले नयाँ सम्भव हुने नीतिहरूले हिमनदीलाई अहिलेको स्तरमा रोक्न सक्ने देखिएको विश्व बैंकले जनाएको छ ।

बैंकका अनुसार ईटा भट्टाको दक्षतामा सुधारले कार्बनको आधा उत्सर्जनलाई घटाउन सक्नेछ भने खाना पकाउने चुल्होमा सुधार र स्वच्छ ऊर्जाको उपयोगले जम्मा भएको कार्बन स्तरलाई घटाउन सहयोग पुर्‍याउने छ । दाउरा वा कोइलाको प्रयोग हुने भान्सा कोठामा एलपीजी ग्यासको प्रयोगमा लगी सौर्य ऊर्जाको उपयोग गर्ने घरपरिवारलाई प्रोत्साहनको नीति लिनुपर्ने प्रतिवेदनले जोड दिएको छ ।

विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष हार्टविग साफरले हालका विनासकारी बाढी हिमाली क्षेत्रका हिमनदी पग्लेर हुने गरेको र यसले हामीलाई दुःखदायी स्मरण छोडेर जाने गरेको कुराहरु जलवायु परिवर्तनका खतरनाक असरले हुने गरेको उल्लेख गर्दै यो खतराबाट सुरक्षित हुनुपर्ने बताएका छन् ।

दक्षिण एसियाली देशहरूले जलशक्तिका स्रोतहरूलाई व्यवस्थित गर्न मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको प्रतिवेदनले औंल्याएको छ ।
विश्व बैंकको दक्षिण एसियाली क्षेत्रका प्रमुख अर्थशास्त्री मुथुकुमारा मणिले भविष्यका चुनौतीहरूलाई सामना गर्न जससम्पदाको व्यवस्थापन सम्बन्धी नीतिको विकास गर्नैपर्ने भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !