१ मंसिर २०८१, शनिबार

साल्ट ट्रेडिङद्धारा खाद्यपदार्थमा २० प्रतिशत छुट,एसटीसी ग्याँस ११२० रुपैयाँमै पाइने

प्रकाशित मिति :  3 June, 2021 7:56 pm


काठमाडौं ।  निषेधाज्ञा अवधिभर दुई सरकारी संस्थानबाट खाद्य पदार्थ खरीद गर्दा छुट पाइने भएको छ। साल्ट ट्रेडिङले  पिठो चिनी नुन भटमासको तेल र खाना पकाउने ग्याँसमा २० प्रतिशत छुट दिने भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधीभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

सोही अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा तोकिएको छ भने त्यस्तै पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ तोकिएको छ । यस्तै खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए ।

पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने जोशीले जानकारी दिए । काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् ।

त्यस्तै साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !