७ माघ २०८१, सोमबार

रोल्पामा अक्सिजन प्लान्टका लागि थप ७५ लाख रुपैयाँ निकाशा हुने

प्रकाशित मिति :  3 June, 2021 9:52 pm


काठमाडौं । रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख रुपैयाँ निकाशा हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख रुपैयाँ निकाशाका लागि अर्थ मन्त्रालयलाई आज पत्र लेखेको हो ।

स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अक्सिजन सहायता चाहिने जटिलतायुक्त बिरामीको संख्या दिनानुदिन बढिरहेकाले संक्रमित बिरामीहरूको उपचार व्यवस्थाका लागि थप रकम सुनिश्चिताका लागि आग्रह गरेको छ ।

यससँगै सल्यान अस्पतालका लागि पनि अक्सिजन प्लान्टका लागि ७५ लाख र एसडियू शैयाका लागि ८० लाख रुपैयाँ बिनियोजनका लागि स्वास्थ्य मन्त्रालयले पत्र लेखेको छ ।

रोल्पा अस्पतालका लागि अर्थ मन्त्रालयले जेठ १३ गते ३ करोड रुपैयाँ बिनियोजन गरेको थियो । जसमा कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आइसीयू र आइसीयू भेन्टिलेटरको थप व्यवस्था गर्नका लागि भनिएको थियो । रोल्पामा पछिल्लो समय हरेक दिनजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । अझै ६३४ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !