७ मंसिर २०८१, शुक्रबार

कोभिड-१९ का कारण विश्वका थप १० करोड ८० लाख मजदुर चरम गरिबीमा

प्रकाशित मिति :  4 June, 2021 9:27 am


काठमाडौं । कोभिड–१९ महामारीले विश्वव्यापी श्रम बजारमा निम्त्याएको अभूतपूर्व संकटले गरिबी बढाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले जनाएको छ ।

आईएलओका अनुसार महामारीले गत वर्षदेखि सिर्जना गरेको रोजगारीमा कमी र काम गर्ने घन्टामा कटौती कारण श्रमबाट हुने आम्दानीमा कमी ल्याउने र यसले गरिबी निम्त्याएको छ ।

आईएलओले सार्वजनिक गरेको विश्व रोजगार र सामाजिक परिदृश्य : प्रवृति २०२१ (वर्ल्ड इम्प्लोयमेनट एन्ड सोसल आउटलुकःट्रेन्डस २०२१) शीर्षक प्रतिवेदनले सन् २०१९ को तुलनामा थप १० करोड ८० लाख मजदुर विश्वभर चरम गरिबीको समूहमा पर्ने जनाएको छ ।

प्रतिवेदनले गरिब न्यूनीकरणका  पाँच वर्षे लक्ष्य पूरा हुन नभएको भन्दै सन् २०३०सम्म संयुक्त राष्ट्रसंघले प्राप्त गर्न खोजेको दीगो विकास लक्ष्य पूरा गर्न समस्या उत्पन्न हुने उल्लेख गरेको छ ।

कोभिड–१९ को संकटले संकट पूर्वको असमानतालाई झन खराब बनाएको प्रतिवेदनमा उल्लेख छ । विस्तारित सामाजिक सुरक्षाको अभावले महामारीबाट असर परेका कामबाट परिवारको आम्दानी र तिनको गुजारा चलाउने अवस्थामा संकट सिर्जना गरेको आईएलओले बताएको ।

“विश्वका दुई अर्ब अनौपचारिक क्षेत्रका कामदारहरूको अवस्थालाई ख्याल गर्दा यो स्थिति भयावह हुनेछ,” आईएलओले भनेको छ, “संकटले महिलालाई ठूलो मर्कामा पारेको छ । सन् २०२०मा पुरुषको ३.९ प्रतिशत रोजगार गुमेका बेला महिलाको रोजगारी पाँच प्रतिशतले घटेको थियो ।”

प्रतिवेदनअनुसार सन् २०२० मा युवा रोजगारी ८.७ प्रतिशतले गुमेको थियो भने वयस्कहरूको रोजगार सोही अवधिमा ३.७ प्रतिशतले गुमेको थियो । यो गिरावट मध्यम आयका देशहरूमा धेरै देखिएको थियो । सुधारमा ढिलाइ भए युवाले रोजगार पाउन वर्षौ प्रतिक्षा गर्नुपर्ने अवस्था ल्याउने आईएलओले चेतावनी दिएको छ ।

कोभिड–१९ महामारीले विश्वव्यापी श्रम बजारमा निम्त्याएको अभूतपूर्व संकट र रोजगार वृद्धिले भएको घाटाको भपाई गर्न कम्तीमा सन् २०२३ सम्म पर्खिनुपर्ने देखिएको आईएलओको भनाइ छ ।

प्रतिवेदन अनुसार सन् २०२१ को पहिलो ६ महिनामा सर्वाधिकका खराब असर परेका क्षेत्रमा ल्याटिन अमेरिका, क्यारेबियन, युरोप तथा मध्य एसिया रहेको देखियो । पहिलो त्रैमासिकमा काम गर्ने घन्टामा आएको कमी ८ प्रतिशतले बढ्यो र दोस्रो त्रैमासिकमा ६ प्रतिशतले बढ्यो । जबकि वैश्विक काम गर्ने घन्टामा कमी पहिलो त्रैमासिकमा ४.८ र दोस्रो त्रैमासिकमा ४.४ प्रतिशत आएको थियो ।

विश्वव्यापी रोजगार सुधार सन् २०२१को दोस्रो अर्धवार्षिक अवधिमामा द्रुतगतिमा बढ्ने पूर्वानुमान गरिएको आईएलओले जनाएको छ । समग्र महामारीको अवस्था बिग्रेर नगएको अवस्थामा यो पूर्वानुमान अनुसारको सुधार गति बढने अनुमान उसले गरेको छ ।

प्रतिवेदनमा यो संकटका कारण विश्व संकटले रोजगार खाडल सन् २०२१ मा साढे सात करोड पुग्ने र सन् २०२२ मा घटेर २ करोड ३० लाखमा झर्ने उल्लेख छ ।

काम गर्ने घन्टाको आधारमा सापेक्षिक खाडल (जसमा रोजगार खाडल र घटाइएका काम गर्ने घन्टा समावेश हुन्छ) सन् २०२१ मा पूर्णकालीन १० करोड रोजगार बराबर पुग्ने र सन् २०२२मा यो २ करोड ६० लाख पूर्णकालीन रोजगार बराबर हुने प्रतिवेदनमा उल्लेख छ ।

रोजगार र काम गर्ने घन्टामा आएको कमी संकट हुनपूर्व अघिको तुलनामा उच्च बेरोजगार स्तर, श्रमको कम उपयोग र काम गर्ने अवस्था खराबको स्तर धेरै उच्च रहेको आईएलओले बताएको छ ।

“परिणामतः विश्व बेरोजगार सन् २०२२ मा २० करोड ५० लाख हुनेछ । यो सन् २०१९को १८ करोड ७० लाख भन्दा बढी रहने देखिएको छ । यसको अर्थ बेरोजगार दर ५.७ प्रतिशत रहनेछ । कोभिड–१९को संकट अवधिलाई हटाउने हो भने यो बेरोजगारी स्तर यसअघि सन् २०१३ मा देखिएको थियो,” आईएलओले भनेको छ ।

अधिकांश विकासशील र उदीयमान अर्थतन्त्रहरूमा बलियो वित्तीय प्रोत्साहन मापदण्डहरूको क्षमता सीमित भएको भन्दै आईएलओले यो खोपको पहुँचमा देखिएको असमानताले सुधार एकनासले नहुने जोखिम औंल्याएको छ । “अझ ती देशहरूमा सिर्जना हुने नयाँ रोजगारको गुणस्तर खराब हुने देखिएको छ,” प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९को सुधार मात्र स्वाथ्यका विषय मात्र होइन । यसले अर्थतन्त्रहरू र समाजका आवश्यकताहरूमा पुर्‍याएको गम्भीर हानिको सुधारसँग जोडिएको विषय भएको भन्दै. अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गाय राइडरले यसमा ध्यान नदिइए समग्र समाजमा गरिबी र असमानता बढाएर जाने चिन्ता व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !