गाउँपालिकालाई रेडक्रसको सहयोग
रोल्पा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङ रोल्पाले सुनछ्हरी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजना तथा स्वास्थ्य प्रवर्द्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम नेपालगन्ज बाकेको सहभागितामा संचालित स्वास्थ्य र खानेपानी ,सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रम अन्तर्गत सहयोग गरेको हो ।
स्वीस रेडक्रसको आर्थिक सहयोगमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको आइसोलेसनको अग्रपंक्तिहरुमा खटिएका स्वास्थ्यकर्मी र संक्रमित मानिसहरुका लागि नेपाल रेडक्रस सोसाइटी रोल्पा मार्फत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको उपशाखा सभापति खिमबहादुर बिष्टले बताए।
स्वास्थ्य सामाग्रीहरुमा थर्मलगन थर्मोमिटर एक पिस,पल्स अक्सिमिटर २ पिस,पिपिई सेट ३ प्याकेट,फेससिल्ड २० पिस,सर्जिकल ग्लोब्स ८ सय पिस,सेनिटाइजर एक सय एम. एलको २८ वटा,सर्जिकल मास्क १५ सय पिस,हातधुने साबुन ४० वटा र कोरोना भाइरस सम्बन्धि सन्देशमुलक फ्लेक्स ४ पिस हस्तान्तरण गरिएको सभापति बिष्टले जानकारी दिए ।
हस्तान्तरण सामाग्रीहरु बुझ्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले रेडक्रसले महामारी तथा विपद्को बेला विभिन्न सहयोग गरि राम्रो काम गरेको बताए साथै स्वास्थ्य सामाग्री दिएर गाउँपालिकालाई सहयोग गरेकोमा रेडक्रसलाई धन्यवाद व्यक्त गरे ।